आज भोली चलचित्रकर्मीहरुले प्राय जसो ग्लोबल मार्केटिङ्गलाई जोड दिइरहेका हुन्छन् । चलचित्रको बजार बिस्तारको प्रंसग चलिरहदा चलचित्रकर्मीहरुको ग्लोबल मार्केटिङको सपना पूर्ण रुपमा साकार भने भईसकेको छैन । तथापी चलचित्रकर्मीहरुको आफ्नै सक्रियतामा बिदेशका बिभिन्न सथानहरुमा चलचित्रहरु प्रदर्शन भएको यदाकदा सुन्दै आएका छौ हामी ।
युरोप, अमेरीका, मलेसिया, दुबई, कतार लगायत नेपालीहरुको बाहुल्यता भएका स्थान चलचित्रकर्मीहरुको आर्कषणको केन्द्र बनेको छ । नियमित रुपमा नभए पनि यदाकदा चलचित्र नेपाली चलचित्र प्रदर्शन हुने गरेको कतारमा साउन १३ गते भने चलचित्रको मेला नै लाग्ने भएको छ । नेपाली प्रवासी आदिवासी जनजाती महासंघ, कतारले बिश्व आदिबासी दिवसको अवसरमा यस्तो अवसर जुटाउन लागेको हो । विश्व आदिवासी दिवस अगस्टमा ९ मा विश्वभर मनाइँदै छ ।
साउन १३ गते महासंघको आयोजनामा दोहामा हुन लागिरहेको आदिबासी जनजाती चलचित्र महोत्सवमा दर्शकहरुले नेपालका जनजातीको पहिचान भल्कने चलचित्र छानी छानी हेर्न पाउने भएका छन् । जनजातीहरुको मौलिक पहिचान झल्कने खालका चलचित्रहरु प्रदर्शन गर्ने भन्दै महासंघले गुरुङ भाषाको कृपा, तामाङ भाषाको गोबेदा, मगर भाषाको आशे, र्राई भाषाको सिम्मा, लिम्बु भाषाको नुमाफुङ, र थारु भाषाको ब्रहान चलचित्र छनौट गरेको जनाएको छ । माथि उल्लेखित चलचित्रहरु मध्ये गुरुङ भाषाको कृपा र लम्बु भाषाको नुमाफुङ नेपालमा सफल ठहरीएका चलचित्रहरु हुन् ।
आदिबासी दिवसलाई चलचित्रमय बनाउदै महासंघले उक्त दिन दोहामा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म चलचित्रको प्रदर्शन गर्ने जनाएको छ ।गोदेवा नेपालीमा, कृपा अंग्रेजीमा, आशे अंग्रेजी र नेपालीमा, नुमाफुङ अंग्रेजीमा, सिम्मा नेपालीमा र ब्रहानको सब टाइटल अंग्रेजीमा गरिएको छ ।