नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले नितिगत रुपमै आदिवासी चलचित्रलाई व्यवस्थित र प्रोत्साहन गर्न विदेशी चलचित्रलाई विस्थापित गर्ने बताएका छन् । सरकारले आर्थिक वर्ष ०६८/०६९ मा पोखरालाई चलचित्र शहर वनाउने घोषणा गरेको वताउदै भण्डारीले वोर्डले मौलिकता र पहिचान सहितको चलचित्रलाई प्रवर्द्वन गर्न जोड दिने बताए ।
गुरुङ भाषा र सँस्कृति संरक्षणको लागी स्थापित गुरुङहरुको साझा चलचित्र संस्था गुरुङ फिल्म एशोसियसन नेपाल (जिफा) को दोश्रो अधिवेशनलाई आज पोखरामा उद्घाटन गर्दै अध्यक्ष भण्डारीले वोर्डले आदिवासी जनजाति चलचित्र प्रदर्शनका लागी विशेष अधिकार दिने बताए । कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष दिपेन्द्र र्राईले आदिवासी जनजातिको चलचित्रको मुद्धामा केन्द्रमा अवाज उठाउने कोही नभएकोले आदिवासी चलचित्र विकास गर्न नसकेको बताए । । उनले जनजातिको वाहुल्यताको आधारमा आदिवासी चलचित्रहरुलाई प्रदर्शन गर्नुपर्ने बताए ।
गुरुङ फिल्म एशोसियसन नेपाल जिफाका अध्यक्ष मओत्से गुरुङले सरकारले पोखरालाई चलचित्र सहर घोषणा गर्नु भनेको हर्ष न विष्मात जस्तै भएको बताए । पोखरालाई चलचित्र सहर घोषणा गर्नु आफैमा राम्रो भएपनि यसको कार्यन्वयन गर्नेमा सरकार उदासिन हुने गुरुङले बताए । त्यस्तै तमु धिँ नेपालका अध्यक्ष कर्म तमुले आदिवासी चलचित्र मितव्ययिता र भाषा संरक्षणका लागी गुरुङहरुको चलचित्र सेन्सरका लागी चलचित्र वोर्ड आधिकारीक रुपमा तमु धिँ नेपाललाई दिनुपर्ने बताए । आदिवासी जनजाति समन्वय समिती कास्कीका उपाध्यक्ष मन वहादुर गुरुङले आदिवासी जनजातिहरुलाई भाषा, सस्कृति संरक्षणका लागी राज्यबाट विभेद गरेको भन्दै राजनितीक क्रान्तिसंगै चलचित्र मार्फत साँस्कृतिक क्रान्ति पनि गर्नुपर्ने बताए ।
यसैवीच जिफाले चलचित्र क्षेत्र मार्फत गुरुङ भाषा, संस्कृति संरक्षणमा योगदान पुर्याएको भन्दै ३ चलचित्रकर्मीलाई सम्मान गरेको छ । जिफाले स्वर्गिय क्याप्टेन मीन वहादुर गुरुङलाई मरणोपरान्त सम्मान र ओमप्रकाश गुरुङ तथा लोक वहादुर गुरुङलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो । जिफाका अध्यक्ष माओत्से गुरुङको अध्यक्षतामा भएको उद्घाटन सत्रमा चलचित्रकर्मीहरुले विविध नृत्य र गीतहरु प्रस्तुत गरेका थिए । जिफाको अधिवेशनमा देशै भरका करिब १५० सदस्यहरुको सहभागीता रहेको थियो ।