म सधै बिहान पाँच वजेको समयमा उठिसक्छु । त्यसपछि हात मुख धुन्छु अनि एकैछिनमा फ्रेस हुन्छु । त्यसपछि यदि सुटिङ छ भने सुटिङको लागि गाडी लिन घरैमा आउछ र साढे पाँच बजेतिर म घरबाट सुटिङको लागि हिंड्छु । यदि सुटिङ छैन भने कलेज जानको लागि तयार हुन्छु । कलेज जानु भन्दा पहिले म व्रेक फास्ट गर्छु । व्रेक फास्टमा म जुस, स्याउ र कर्नफ्लेक्सहरु बढि मन पराउँछु ।
व्रेकफास्ट लिइसकेपछि ६ साढे ६ बजेतिर कलेजको गाडीमा कलेजतर्फ लाग्छु । म अहिले पिरामिड कलेजमा स्नातक दोस्रो बर्षमा अध्ययनरत छु । करिव २० मिनेटमा कलेजमा पुग्छु । साढे १० बजेसम्म म कलेजमै हुन्छु । कलेजबाट घरमा फर्कदा ११ बजिसकेको हुन्छ । घरमा फर्कीएपछि एकैछिनमा फ्रेस हुन्छु । त्यसपछि लन्च लिन्छु । लञ्च लिँदा साढे एघार/बाह्र बजिसकेको हुन्छ । लन्चमा म साधारण खाना दालभात तरकारी नै मन पराउँछु । मलाई माछा मासुमा त्यती रुचि छैन । म शाकाहारी खाना नै बढि मन पराउँछु ।
लन्च गरिसकेपछि म टिभी हेर्छु । टिभीमा म बढि नेपाली च्यानलहरु नै हेर्छु । टिभी प्रोग्रामहरुमा मलाई बढि रियालिटी शो मन पर्छ । दिउँसो ४ बजे डान्स क्लास लिन वानेश्वर स्थित झरना कला केन्द्रमा पुग्छु । ४ देखि ६ बजेसम्म डान्स क्लासमै हुन्छु । साँझ ६ बजेपछि घर फर्कन्छु । साँझ घरमा फर्केपछि मन लाग्यो भने खाजा खान्छु नत्र जुसहरू मात्र लिन्छु । म प्राय ड्राइ फुड्स बढि रुचाउछु । साँझमा भाइसंग बसेर मुभी हेर्छु । कहिलेकाहीं साथीहरुसंग साँझमा बाहिर निस्कन्छु । मुभीमा म सबै प्रकारमा मुभीहरु हेर्छु । मुभी, टिभीहरु हेर्दै गर्दा साँझको नौ बजिसक्छ ।
हामी घरमा ममी, भाइ र म मात्रै छौ । एक जना मेरो दिज्यूको विवाह भइसकेको छ । अहिले उहाँ वर्दियामा हुनुहुन्छ । ममीले खाना बनाउनुहुन्छ । कहिलेकाहीं मैले पनि ममीलाई सघाउँछु । नौ बजतिर हामी डिनर लिन्छौ । डिनरमा पनि म साधारण खाना नै मन पराउँछु । डिनर गरिसकेपछि एकैछिन नेटमा वस्छु । नेटमा समाचारहरु के छ हेर्छु । इमेल अपडेट गर्छु । त्यसपछि म पुस्तक पढ्छु । मेरो एउटा कहिल्छै नछुट्ने वानी भनेको साँझ सुत्नु अघि पुस्तक पढ्नु हो । सुत्नु अगाडि म थोरै समय भएपनि पुस्तक पढ्कै हुन्छु । अहिले म तसलिमा नसरिनको प्रेम जीवन भन्ने पुस्तक पढ्दै छु । यस भन्दा अगाडी भर्खरै मात्र तसलिमाकै बिग्रीएकी आइमाई भन्ने पुस्तक पढेर सके । यो पुस्तक निकै राम्रो रहेछ । अहिले पढ्दै गरेको प्रेमजीवन पनि निकै राम्रो छ । मेरो अर्का वानी के छ भने राती पुस्तक पढ्दै गर्दा एकदमै रमाइलो लाग्यो भने म नसुतेरै भएपनि त्यो पढेर सकाउछु । प्राय म राती ११/१२ बजे तिर सुत्छु ।
यो त भयो सुटिङ नहुंदा दैनिकी । सुटिङ हुंदाको सयमा भने म विहानै छ वजे सुटिङमा लागिसकेको हुन्छु । सुटिङमा पुगिसकेपछि उतै सुटिङ युनिसंगै व्रेकफास्ट गर्छु । त्यसपछि सुटिङमै व्यस्त रहन्छु । दिउँसो करिव एक बजेको समयतिर हामी लन्च लिन्छौ । अनि एकैछिन रेस्ट गरेर फेरी सुटिङमै व्यस्त रहन्छु । साँझ सुटिङबाट फर्कदा आठ/नौ बजेको हुन्छ । अनि दिनभरीको थकाइले निकै अल्छी लागिरहेको हुन्छ । डिनर लिएर सुत्न जान्छु ।
अहिले सुटिङ छैन । बिगत एक महिना देखि म एनसेलको देशव्यापी कार्यक्रम 'रोड शो' मा हिंडिरहेको छु । मसंगै गायक सुगम पोखरेल, इन्दिरा जोशी, हास्य कलाकार गोपाल नेपाल (फिस्टे) पनि हुनुहुन्छ । यो रोड शोमा हिड्दा निकै रमाइलो लागिरहेको छ । नंया-नंया ठाउँहरुको अवलोकन गर्न पाइएको छ । जस्तै पाल्पा, स्याङ्जा, सिन्धुली, धरान, बाग्लुङ जस्ता ठाउँहरुमा म पुगेको थिएन । त्यहा घुम्ने अवसर पाए । धेरै नंया कुराहरु पनि सिक्ने अवसर पाइएको छ । करिव-करिव यो रोड शो कार्यक्रम पनि सकिदैछ । अव लमजुङ र गोर्खा मात्रै बांकी छ । त्यसैले अबको केहि दिनमा म काठमाण्डू आईपुग्छु र आफ्नो दैनिक कार्यमा लाग्छु ।