निर्देशक शिब रेग्मीले आफुले दर्शकहरुलाई रुवाउन नचाहे पनि दर्शकहरु रुने गरेको बताएका छन् । आफुले उठाउको बिषय र त्यसको प्रस्तुतिकरणले दर्शकको मन छुने गरेका कारण उनिहरुका आँखा रसाउने गरेको रेग्मीको भनाई छ ।
एउटा मनले अर्को मनलाई बुझ्ने हो भने मान्छे अर्काको दु:खमा पनि रुन्छ भन्दै रेग्मीले आफ्ना चलचित्रमा त्यस्तै हुने गरेको बताएका छन् । उनका अनुसार चलचित्र हेर्दा दर्शकले कुनै पात्र भित्र आफुलाई पाउछ भने त्यो पात्रको दु:खमा रुने र सुखमा हास्ने गर्दछ । तर दर्शकलाई रुवाउने भनेर तपाईको त परिचय नै बन्न लाग्यो नि भन्दा उनले आफुले दर्शकका आखाँ रसाएको कुनै पनि हालतमा हेर्न नचाहे पनि चलचित्रको कथा र प्रस्तुतिले दर्शकको मन छुनु, चलचित्र भित्र दर्शकले आफैलाई पाउनु भएको बताएका छन् । नदुख्ने मन र नरसाउने आखाँ कसैको नहुने भन्दै उनले कसैको आँसु झर्ने त कसैको नझर्ने बताए ।
धेरै सफल चलचित्र दिइसकेका रेग्मी यतिबेला भने पोखरा आईपुगेका छन् । चलचित्र 'पराइ' को केही भागको छायाँकनका लाग्री पोखरा आएका शिबले चलचित्रको पहिलो सट लिनै लाग्दा फिल्मीखबर समक्ष यो चलचित्रले मान्छे भित्रको मान्छेलाई बुझ्ने बताए । उनले घुमाउरो पारामा यो चलचित्रले पनि दर्शकका आखाँ ओभानो नछाड्ने संकेत गरेका छन् । त्यसो त चलचित्र 'पराइ' का बारेमा बताउदै उनले यो पनि शिब रेग्मी प्याटन कै भएको जनाए ।
शहरी परिवेश र गाउँले परिवेशको कथा मिश्रित रुपमा समेटेको संकेत गर्दै उनले गाउँले परिवेशको दृष्य खिच्न आफु पोखरा नजिकैको गाउँ धम्पुस आएको बताए । अधिकांश चलचित्रहरु पोखरामा छाँयाकन गर्ने गरेका रेग्मीले पोखराको सौन्दर्यले आफुलाई मोहीत पार्ने गरेका कारण यस पटक पनि पोखरा आएको बताए । १० दिनको सेडुयल लिएर पोखरा आएका शिबले पोखरामा रहँदा गीत र द्धन्द्धको दृष्य समेत छायाँकन गर्नेछन् ।
हिमाल केसीको द्धन्द्ध रहेको चलचित्रमा कलाकारहरुलाई लडाउन केसी यो हप्ता पोखरा पुग्ने रेग्मीले जनाएका छन् । त्यस्तै धम्पुसको सौन्दर्यलाई शम्भु सापकोटाले क्यामरामा कैद गर्ने छन् । बसन्त सापकोटाको संगीतमा कबिराजले कलाकारकालाई कम्मर मर्काउन लगाउने छन् । दिपक शाहीको निर्माण रहेको चलचित्र 'पराइ' मा नन्दिता केसी, निरज बराल, गोबिन्द शाही, गरिमा पन्त लगायतको मुख्य भुमिका रहेको छ ।