आफ्नो चलचित्र चलाउन चलचित्रकर्मीहरु जे गर्न पनि तयार हुने गर्दछन् । सुल्टो उल्टो जे पनि गर्दछन् चलचित्रकर्मीहरु । खासगरी काठमाडौ उपत्यकामा होल्ड ओभर कायम नहुँदा चलचित्र उत्रने भएका कारण चलचित्रको होल्ड ओभर कायम राख्न चलचित्रकर्मी आफैले टिकट किन्ने गरेको पनि सुन्दै आएका छौ हामीले ।
त्यसो त आफ्नो चलचित्रसंग अरु चलचित्र जुध्न आए भने ति चलचित्रलाई ठेगान लगाउनका लागी अर्काको चलचित्रको होल्ड ओभर कायम गर्न समेत पछि पर्दैनन् चलचित्रकर्मी । अझ राजनितीको त कुरै छोडौं । यस्तै चलचित्र भित्र हुने राजनितीको शिकार बनेको निर्माता बसन्त कुमार श्रेष्ठ बताउँछन् । उनका अनुसार चलचित्र आफ्नो चलचित्र 'सपना' लाई लडाउन केहि चलचित्रकर्मीहरू लागि परेका छन् ।
आफ्नो चलचित्र राजनितीको शिकार भएको भन्दै श्रेष्ठले आफु चुनौतीबाट नभाग्ने बताए । क्यूमा बसेर विश्वज्योती सिनेमा च्यानलबाट प्रदर्शनमा आउन लागेको यो चलचित्र बिश्वज्योतीमा चलीरहेको अर्को चलचित्रको होल्ड ओभर कायम हुन्जेल चल्न पाउने व्यवस्था छैन । यसकारण चलीरहेको चलचित्रको होल्ड ओभर कायम गरी आफ्नो चलचित्रको प्रदर्शनमा बाधा पुर्याउने तयारी भैरहेको श्रेष्ठको भनाइ छ । तर कसले यस्तो तयारी गरेको हो भन्ने बारे उनले स्पष्ट नपारे पनि आफुसंग जुध्न लागेका चलचित्रले यस्तो गरेको संकेत गरेका छन् ।
आफुले चलचित्र राम्रो बनाएको बताउदै श्रेष्ठले आफ्नो चलचित्र कुनै पनि चलचित्रसँग जुध्दा फरक नपर्ने बताएका छन् । उनी भन्छन्, 'मलाई मेरो चलचित्र चल्नेमा पूर्ण बिश्वास छ । त्यसैले मेरो चलचित्र माथी राजनिती नगर्नु नै बेस हुन्छ ।' उनले चलचित्र राम्रो बनाउन चलचित्रकर्मीलाई आग्रह गर्दै राजनीती नगर्न सुझाब दिएका छन् ।
बसन्त श्रेष्ठ र हरि बरालको संयुक्त प्रस्तुती रहेको चलचित्रलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका छन् । चलचित्रमा राजेश हमाल, आर्यन सिक्देल, नन्दिता केसी, सुनिलदत्त, अर्जुन कार्की लगायतले अभिनय गरेका छन् । प्रेमकथामा आधारित रहेर निर्माण गरिएको सो चलचित्र यहि श्रावण महिनाको अन्तिम साताबाट प्रदर्शनमा आउँदै छ ।