आज भोली फेसबुक नचलाउने सायदै कम मान्छे होलान् । आफ्ना कुराहरु सहजै आफ्ना साथीहरूसँग पुर्याउनको लागी पनि फेसबुकको प्रयोग गर्ने व्यक्तिहरू धेरै छन् । बिना पैसा धेरै ब्यक्तिहरुलाई आफ्ना कुराहरु तस्विर सहित जानकारी गराउन सकिने फेसबुक अहिले आम ब्यक्तिले जस्तै चलचित्रकर्मीहरुले पनि प्रयोग गरिरहेका छन् ।
चलचित्रकर्मीहरुको फेसबुक एकाउण्ट आजभोली चलचित्रको बिज्ञापनका लागी बढी प्रयोग हुन थालेको छ । चलचित्रकर्मीले आफ्नो फेसबुकबाट चलचित्र निर्माण, निर्देशन तथा अभिनयका साथै अन्य कामहरुको बिवरण प्रस्तुत गर्न थालेका छन् । नयाँ चलचित्र बनाउदै छु, खेल्दैछु, निर्देशन गर्दैछु, खिच्दैछु यस्तै यस्तै आ-आफ्ना कामहरु चलचित्रकर्मीको फेसबुक वालमा पढ्न पाइन्छ ।
चलचित्रकर्मीहरुले फेसबुकको वालबाट आफ्नो चलचित्रको सेटिङ देखि रिलिज सम्मको जानकारी दिन थालेका छन् । आज भोली गीतको सिआरबिटी प्रमोशन देखि पोष्टर सार्वजनिक सम्म फेसबुकबाट नै हुन थालेको छ । चलचित्रकर्मीहरुले आफ्नो चलचित्रको प्रसार गर्ने गतिलो माध्यम बनाएका छन् फेसबुकलाई ।
पछिल्लो समय अधिकांश चलचित्रकर्मीहरुले आफ्नो चलचित्रको फ्यान पेज समेत बनाएका छन् । तर धेरैको अपडेट छैन । फेसबुकको प्रयोग गरेर चलचित्रको बारेमा जानकारी दिने चलचित्रकर्मीहरुमा अग्र पक्तिमा निर्देशक सुरेश दर्पण पोखरेल देखिएका छन् । उनले आफ्नो चलचित्र 'मिस यू' को जानकारी दिन तयार पारेको फ्यान पेजमा धेरै जसो चलचित्रसंग सम्बन्धित स्टाटस तथा तस्बिरहरु अपडेट गरी नै रहेका हुन्छन् । त्यस्तै अर्का चलचित्रकर्मी प्रदिप उदय पनि प्राय जसो फेसबुकमा नै भेटिन्छन् । उनले आफ्नो चलचित्र 'मालतीको भट्टी' र 'हाम्रो माया जुनी जुनीलाई' को प्रचारका लागी अहिले फेसबुकको प्रयोग ज्यादै गरेका छन् । उदयले चलचित्रको पोस्टर समेत फेसबुकबाटै सार्वजनिक गरे ।
यस्तै अर्का निर्देशक सुरज सुब्बा नाल्बोले पनि पछिल्लो चलचित्र 'सायद' को प्रोमोसनका लागी फेसबुकको प्रयोग धेरै नै गरीरहेको छन् । पोस्टर क्यामपेनिङ गर्ने देखि पोस्टर रिलिज सम्म फेसबुकबाट नै गर्दैछन् सुब्बाले । त्यसो त फेसबुकबाट आफुले खेलेको चलचित्रको प्रचार गर्ने कलाकार हुन् दिनेश डिसी । उनले फेसबुकबाट नै आफूले अभिनय गरेका चलचित्रको बारेमा मात्र नभएर आफ्नो दैनिकी समेत अपडेट गर्छन् । यसैगरी फेसबुकमा धेरै देखिने नायिका रेजिना उप्रेती र रेखा थापा पनि हुन् ।
पछिल्लो समय भदौ २ गतेबाट रिलिज हुन लागेको चलचित्र श्रीमान् श्रीमतीको पोस्टर पनि फेसबुमा देख्न पाइन्छ । यसका निर्देशक ऋषि लामीछानेले आफ्नो फेसबुकमा चलचित्रको जानकारी दिदै पोस्टर र्सार्वजनीक गरेका छन् । यस्तै नायिका ऋचा घिमिरे, निर्देशक शंकर घिमिरे र नवनायक बिमलेश अधिकारी पनि आफ्नो चलचित्र 'ब्रेक फेल' को प्रचार प्रसार फेसबुकबाट गरिनै रहेका छन् । चलचित्रका तस्विर देखि लिएर पोस्टर र गीत उनीहरूको वालमा देख्न सकिन्छ ।
आज भोलि प्रबिधिको विकाससँगै ईन्टरनेटको प्रयोग पनि बढी रहेको छ । यो समयमा प्रबिधीलाई आत्मसाथ गर्दै सामाजीक सञ्जालको माध्यमबाट आफ्नो चलचित्रको जानकारी गराउनुलाई सकारात्मक मान्नु पर्दछ ।