चलचित्र लेख्न होस वा निर्देशन गर्न कला चाहिन्छ । भन्छन् कि त परेर जानिन्छ कि त पढेर जानिन्छ । अझ बिशेषज्ञ वा अग्रजहरुको अनुभव र उहाँहरुको सिपले पनि चलचित्र लेख्न होस वा बनाउन होस् महत्वपूर्ण भुमिका खेल्ने गर्दछ ।
नेपाली चलचित्रको स्थिती सन्तोष जनक भएन भन्ने गुनासाहरु प्रशस्त सुनिए पनि यसको गुणस्तरीया बृद्धिका लागी कतैबाट पहल भएको पाइएको छैन । यो बेलामा आदिवासी फिल्म आर्काइभ (आइफा) ले भने आदिबासी जनजाती फिल्मलाई स्तरीय बनाउन नयाँ रणनिति अवलम्बन गरेको छ । आइफले आदिबासी जनजाती फिल्मलाई स्तरीय बनाउन स्कृप्ट लेखन देखि चलचित्र निर्देशन सम्मको तालीम प्रदान गर्ने भएको छ ।
आइफाले एकसाथ दश फिल्म निर्माण गर्ने घोषणा गर्दै ति चलचित्रलाई स्तरीय बनाउन यस्तो रणनिती अपनाउन लागेको बुझिएको छ । आदिवासी समाज, जनजीवन र संस्कृतिमा केन्द्रित रहदै यो वर्ष भित्रमा चलचित्र बनाइ सक्ने आइफले जनाएको छ । आदिवासी जनजाति चलचित्र नबनेका भने होइनन् तर यस्ता चलचित्रहरु आ-आफ्ना समुदायमा मात्र सिमित भैरहेकोले अहिलेको समयमा आइफाले यसमा ध्यान दिन जरुरी छ । चलचित्र निर्माण गर्दैमा चलचित्रका स्तर सुध्रिन्छ भन्ने चाँही छैन ।
आइफाले आदिवासीको मौलिक स्टोरी टेलिङ, स्टाइल र कथ्य संरचनाको खोजी गर्ने ध्येय समेत रहेको यो अभियानले चलचित्रकर्मीलाई चलचित्रबाटै बाँच्ने स्थितिमा पुर्याउने महत्वाकांक्षी योजना समेत अगाडी सारेको छ । अहिलेसम्म आदिवासी फिल्म प्रवर्द्वन गर्ने भन्दै महोत्सवलाई बढावा दिदै आएको आइफले आउने वैशाखमा राजधानीमा हुने अर्न्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सवमा प्रिमियर गर्ने गरी चलचित्रको निर्माण सम्पन्न गर्ने जनाएको छ ।
आइफाका अनुसार १० चलचित्र निर्माणलाई बिभिन्न चरणमा पूरा गर्ने योजना छ । जस अर्न्तगत पहिलो चरणमा विभिन्न समुदायका इच्छुक पटकथा लेखकलाई छनोट गरी चलचित्रकर्मी नवीन सुब्बा र अनुप सुवेदीले सात दिनसम्म पटकथा लेख्न सिकाउने छन् । त्यसपछि तालिमका सहभागी मध्येबाट दशवटा उत्कृष्ट स्क्रिप्ट छनोट गरिनेछ र त्यसलाई फिल्म बनाउन आर्काइभले निर्माता र निर्देशक खोजिदिनेछ ।
यसपछि फिल्म निर्माणसम्बन्धी तालिम दिइनेछ, जसबाट १० जना निर्देशक छनोट गरिनेछ । जस अर्न्तगतको पहिलो कार्यक्रम अर्थात स्क्रिप्ट लेखन अर्को हप्तादेखि सातदिन सम्म चल्ने जनाइएको छ । त्यसो त आइफाले अर्न्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्ने योजना समेत अगाडी सारेको छ । जसका लागी आदिवासी लोककथा, मिथक, रहनसहन र परम्परा बोकेका आधुनिक कथा रहने दशैवटा फिल्मलाई अर्न्तराष्ट्रिय बजारमा लगीने जनाइएको छ ।