छायाँछविको आयोजनामा भइरहेको डिजिटल फिल्म फेस्टा सम्पन्न भएको छ । सिजी डिजिटल फिल्म अवार्ड २०६८ अर्न्तगत भइरहेको डिजिटल फिल्म फेस्टामा डिजिटल फर्म्याटमा बनेका चलचित्रहरुले सहभागिता जनाएका थिए ।
असार ३१ देखि सुरु भएको डिजिटल फिल्म फेस्टा साउन १२ गते टुंगिँएको छ । आयोजकहरुका अनुसार साउनको २२ गते उत्कृष्ट ५ मा पर्न सफल भएका चलचित्रकर्मीहरुलाई मनोनयन गरी र्सार्वजनिक गरिने कार्यक्रम रहेको छ । त्यस्तै यसको एक महिना पछि अर्थात भाद्र २२ गते अन्तिम एवं फाइनल भव्य कार्यक्रमको आयोजना गरी अवार्ड प्रदान गरिने आयोजकले बताएका छन् ।
०६७/६८ को आर्थिक बर्ष भित्र बनेका वा प्रदर्शन एवं सेन्सर भएका चलचित्रहरुलाई सहभागी गराइएको उक्त फेस्टिबल अर्न्तगत प्रदर्शित चलचित्रहरुलाई निर्णायकहरूले हेरेर नम्बर दिने कार्य गरिएको थियो । करिब दुई हप्तासम्म बालाजु स्थिति अष्टनारायण पिक्चर्स प्रालीमा डिजिटल फिल्म फेस्टा अर्न्तर्गतका फिल्महरु प्रदर्शित भएका थिए । सीजी डिजिटल फिल्म अवार्ड ०६८ मा चलचित्र लेखक एवं निर्देशक मोहन निरौला, त्यस्तै लेखक निर्देशक ओम प्रतीक, निर्देशक, कलाकार दिनेश कार्की तथा चलचित्र पत्रकार राजेश खनाल निर्णायकको रुपमा रहेका थिए ।
यस पटकको डिजिटल फिल्म फेस्टामा दुई दर्जन भन्दा बढी चलचित्रले सहभागिता जनाएका छन् । कस्ले चोर्यो मेरो मन, बाटो मुनीको फूल, एक दिन एक रात, नमस्ते, म बिर्सुं कसरी, तिमी जहाँ भए पनि, ठेगाना, चिनो, भूल भए माफ गर, आफ्नो मनलाई सोधी हेर, धर्मा, श्रीमान, दुलही, स्वर, मनमनै मन पराएँ, अँगालो यो मायाको, सपथ, मन परेपछि, ब्याच नं १६, जीवनलीला, किन मायामा, चम्पा चमेली, कसम, मार्यो नी मायाले मार्यो जस्ता चलचित्रहरुले सहभागिता जनाएका थिए । खासगरी नेपाली चलचित्र उद्योगको वर्तमान अवस्थालाई डिजिटल चलचित्रका माध्यमले सक्रिय गर्राई उद्योगलाई समृद्धिको बाटोमा लग्नका निमित्त निर्माताहरुले गरेको प्रयासलाई अवार्डका माध्यमले प्रोत्साहित गर्दै कार्यक्रम आयोजना गर्ने गरिएको कुरा आयोजकले बताएको छ ।
वास्तवमा भन्ने हो भने दर्शकहरु कम हुनुका कारणले पनि चलचित्र उद्योग समृद्ध बन्न सकिरहेको छैन । यसैले यस्तै अवार्डका माध्यमले चलचित्र उद्योगलाई चलायमान गर्राई समृद्ध एवं विकसित गराउन यस्ता अवार्डहरुले सहयोग पुग्ने भएकै कारणले पनि अवार्डको आयोजना गरिएको बताइएको छ । पक्कै पनि चलचित्रको संख्या बढ्नु तर गुणस्तरयुक्त चलचित्रहरु निर्माण नहुनुले चलचित्र उद्योगलाई त्यति सकारात्मक बाटोमा लग्न सकिरहेको छैन । यसैले अवार्डका माध्यमबाट राम्रा भन्दा राम्रा चलचित्रलाई प्रोत्साहित गर्दा निर्माता निर्देशकहरुमा पनि राम्रो चलचित्र बनाउने जोश र जाँगर सिर्जित गर्न अवार्डको आयोजना गरिएको कार्यक्रम आयोजक संस्थाका अध्यक्ष शान्ति प्रियले बताए ।