दुस्मनसँग लडाईं गर्दा सामान्यतया हामीले धारिलो हातहतियार, बन्दुक , फलामे रड वा अन्य कुनै बस्तु सम्झन्छौं । तर लौका, भाण्टा, घिरौंला जस्ता फलको मद्वतले लडेको कहिल्यै देखेका छौं ? देख्नेको कुरा त के सुनेका पनि छैनौं होला । तर अब भने हामीले लौका, भाण्टा, घिरौंला जस्ता फलको युद्व देख्न पाउने भएका छौं ।
अचम्म मान्नु पर्दैन । यो लडाईं कुनै युद्व मैदानमा नभएर चलचित्रको पर्दामा हो । आगामी शुक्रबारबाट राजधानी बाहिरका सिनेमा घरमा प्रदर्शन हुने भनिएको चलचित्र 'हात लाग्यो शून्य' मा लौका, भाण्टा, घिरौंला जस्ता फलको सहायताले लडेको दृश्य समेटिएको छ । युवानिर्देशक बिजयबिक्रम बस्नेतले निर्देशन गरेको सो चलचित्रमा राजेश हमाल यिनै बस्तुको सहयोगले आफ्ना दुस्मनसँग लडेका हुन्छन् ।
सुन्दा नै रमाईलो लाग्ने यि दृश्य हेर्दा कस्तो देखिएला त ? निर्देशक बस्नेत भन्छन्, 'दर्शकलाई केहि नयाँ पन दिउँ भनेर यस्तो दृश्य राखिएको हो । यि दृश्य हेरेर दर्शकहरूले भरपूर मनोरञ्जन लिनुहुनेछ भन्नेमा म बिश्वस्त छु ।' नायक हमाल पनि आफ्नि फिल्मी करियरमा यस्तो दृश्य पहिलो पटक समेटिएको भन्दै ति दृश्यको सुटिङ गर्दा नै आफूलाई निकै रमाईलो लागेको बताए । उनले भने, 'साँच्चिकै रमाईला छन् ति दृश्य ।'
सिचुअसनल कमेडी चलचित्र भनिएको हात लाग्यो शून्यमा राजेश हमाल धनाढ्य तर मख्खीचुस मधेसी पात्रको भूमिकामा प्रस्तुत भएका छन् । फरक गेटपममा प्रस्तुत भएर पर्दामा देखिएका हमालले मुख बिगरेर हैन कि आफ्नो लवाइखवाइ, हाउभाउ र जीवनशैलीले दर्शकलाई हँसाउने निर्देशक बस्नेत दाबी गर्छन् । श्री वि एण्ड वि इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र 'हात लाग्यो शून्य' लाई बिश्व नेपालले प्रस्तुत गरेका हुन् भने निर्माताको रूपमा शुभकृष्मा पराजुली, भगवती नेपाल र लक्ष्मी क्षेत्री रहेका छन् ।
चलचित्रमा राजेश हमालको साथमा कल्पना शाही, किरण केसी, शुशिल पोखरेल, गोपाल ढकाल छन्दे लगायतका कलाकारले अभिनय गरेका छन् । विकास चौधरीको संगीत, रामजनकको द्धन्द्ध, लोकचन्द्र थापाको छायाँकन र निर्देशक बस्नेतकै नृत्यनिर्देशन रहेको चलचित्र 'हात लाग्यो शून्य' को छायाँकन काठमाण्डौ उपत्यका र बुटवलको आसपासका क्षेत्रमा गरिएको हो ।