नेपाली चलचित्रबाट बिस्तारै बिस्थापित भएर भोजपुरी चलचित्र आफ्नो पाईला अगाडी बढाएका नायक बिराज भट्ट पनि बेल बेल चर्चामा आउने गरेका छन् । केहि समय अगाडी आफ्नो ज्यानको सुरक्षा पाउँ भन्दै हनुमानढोकामा मुद्दा दर्ता गराएका बिराजले अहिले फेरि अर्को घटनाका लागि मुद्दा दर्ता गरेको बुझ्नमा आएको छ ।
नेपाली चलचित्र 'गंगाजल' लाई निर्माताले भोजपुरीको अधिकार दिएपछि नायक बिराजले त्यसको बिरूद्व मुद्दा दर्ता गरेको स्रोतले बताएको छ । सो चलचित्रमा मुख्य नायक भट्टले आफूलाई थाहै नदिई चलचित्र बेचेपछि त्यसको बिरूद्वमा मुद्दा दर्ता गराएका हुन् । बिराज भट्टको भाग जति छोडेर पुन: भोजपुरीमा छायाँकन गरेपछि आफ्नो भाग छायाँकन नगरी प्रदर्शन गर्दा बेईज्जत हुने भन्दै बिराजले मुद्दा दर्ता गरेको बुझिएको छ । यसरी चलचित्रका मुख्य नायकको भाग नै छायाँकन नगर्नु र अन्य कलाकारको भाग छायाँकन गरेर भोजपुरी चलचित्र बनाउँदा बिराजले त्यसको बिरूद्वमा लागेर चलचित्रको प्रदर्शनमा रोक ल्याउने खोजेका हुन् ।
यस बारेमा प्रतिक्रिया लिन खोज्दा बिराज भट्टको फोन नम्बरमा सम्पर्क हुन सकेन भने चलचित्रका निर्देशक प्रमोद भण्डारीले आफूलाई यस बारेमा खासै ज्ञान नभएको बताए । उनले भने, 'केहि समय अगाडी बिराजले मुद्दा हाल्ने कुरा त थियो तर पछि कुरा मिल्यो भन्ने सुनेको थिएँ । अहिले के हुँदैछ मलाई केहि थाहा छैन ।' यता भोजपुरीका लागि प्रदर्शनको अधिकार लिएका मनोज नारायण भने यस बिषयमा बोल्न डराउँछन् । बिराजले भारत मै मुद्दा दर्ता गरेपछि चलचित्र चल्न नपाएको गुनासो पोख्दै नारायणले डरको कारणले बोल्न नचाहेको स्रोत बताउँछ ।
बिराजले मुद्दा दर्ता गरेपछि निकै टेन्सनमा रहेका मनोज नारायण अहिले बिराजलाई फकाउँदै छन् । स्रोतका अनुसार बिराजलाई फकाउन नै नारायण नेपाल आएका हुन् । चलचित्रलाई नेपाली साढे चार लाख रूपैंयामा बेचेको निर्देशक भण्डारीको भनाई छ । अहिले सो चलचित्रको नाम दानविर राखिएको छ ।