नेपाली चलचित्र क्षेत्रको विकास र नयाँ प्रतिभावान कलाकारको खोजि गर्ने उदेश्यले नेपालको एक मात्रै फिल्मी च्यानल टिभी फिल्मीले सुरु गरेको कार्यक्रम 'को बन्छ कलाकार' को पूर्वाञ्चल अडिसन शनिबार दमकमा सम्पन्न भएको छ । दमकमा औपचारिक उद्घाटनसंगै सुरु भएको अडिसनमा पूर्वको दमक, धरान, बिर्तामोड, बिराटनगर लगायतका क्षेत्रबाट आएका प्रतियोगीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा पूर्वाञ्चलका ७७ जनाले अडिसन दिएका थिए जस मध्ये दोस्रो चरणको लागि पूर्वबाट ३३ जना छानिएका छन्। उपत्यका बाहिरको अडिसनहरु मध्ये पूर्वबाट सर्वाधिक प्रतियोगी छनौट भएको जानकारी कार्यक्रम संयोजक अंकुर लुइटेलले गराए । यसअघि नेपालगंजबाट २४, बुटवलबाट ८, पोखराबाट २० र नारायणगढबाट १४ जना दोस्रो चरणको लागि छनौट भैसकेका छन् । बाकी रहेको काठमाडौको अडिसन भने श्रावण २० र २१ गते हुनेछ ।
अडिसनको लागि चलचित्र कलाकार मदनदास श्रेष्ठ, निर्देशक रमेश बुढाथोकि र प्रथम नायिका भुवन चन्द निर्णायकको रूपमा थिए । यस्तै नायक राजबल्लव कोइराला पनि कार्यक्रमको संचालकको रुपमा पूर्व आएका थिए । सहभागी प्रतियोगीहरुले निर्णायकको अगाडी नृत्य, अभिनय लगायतका विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । उक्त अडिसनबाट नै नायक, नायिका, खलनायक, हास्य कलाकार ,चरित्र अभिनेता लगायतका विधामा कलाकार छान्न अडिसन भैरहेको छ ।
भदौको पहिलो शुक्रबार र शनिबारबाट कार्यक्रम प्रसारण हुने र मंसिरमा ग्रान्ड फाइनल हुने जानकारी संयोजक लुइटेलले गराए । कार्यक्रमका बिजेताहरुले गोपीकृष्ण मुभिजले निर्माण गर्ने चलचित्रमा अभिनय गर्ने लगायत अन्य पुरस्कारहरु पाउनेछन्।