शिब रेग्मीको निर्देशनमा बनिरहेको चलचित्र 'पराई' मा अभिनय गरिरहेकी नायिका नन्दिता भदौको पहिलो साता तिर बिदेश भ्रमणमा निस्कदैं छिन् । सुमन दाहालले निर्देशन गर्ने चलचित्रको सुटिङका लागि बैंकक जान लागेकी नन्दिता सो चलचित्रको सुटिङ सँगसँगै थाईल्याण्ड, मलेसिया, साउदी लगायतका देशमा हुने स्टेज कार्यक्रमहरूमा पनि सहभागी हुँदैछिन् ।
करिब डेढ महिनाको बिदेश भ्रमणमा निस्कन लागेकी नायिका केसी स्टेज शोहरूमा नयाँ प्रस्तुती दिन अहिले कन्टेम्प्रोरी डान्स सिक्दैछिन् । नायिका केसीलाई करियोग्राफर प्रशान्त तामाङले सोर्हखुट्टे स्थित आफ्नै डान्स सेन्टरमा ज्याज, बेली जस्ता डान्सको फ्युजन मानिने कन्टेम्प्रोरी डान्स सिकाउँदै छन् । नायिका केसीले हेमन्त रानाको 'लैजा रे...' र 'शान्ती लुकाउँ कहाँ...' बोलको गीतमा पाँच दिन देखि उक्त डान्स सिकिरहेकी छिन् । निकै गार्हो मानिने कन्टेम्प्रोरी डान्स नन्दिताले भने सजिलो सँग नै सिकेको करियोग्राफर तामाङ बताउँछन् । १० बर्ष देखि डान्स सिकाउँदै आएका प्रशान्तले नन्दिता मेहनती भएको कारणले सिकाउन धेरै सजिलो भएको बताए ।
देख्दा सजिलो लाग्ने तर गर्न निकै गार्हो भएको महसुस गरेकी नायिका केसीले यो डान्स पहिलो पटक गरेको बताईन् । मोर्डन, पप, क्लासिकल जस्ता डान्स गरिसकेकी नायिका केसीलाई कन्टेम्प्रोरी डान्स सिक्दाको पहिलो दिन निकै गार्हो भएछ । हात र खुट्टामा निल डाम देखाउँदै फिल्मीखबरसँग गफिएकी नन्दिताले पहिलो दिन त उठ्न पनि नसकेको बताईन् । तर आँटेको काम गरेर नै छाड्छु भन्ने मान्नेता राख्ने नन्दितालाई अहिले भने गार्हो भएको छैन रे ! उनी भन्छिन्, 'अहिले त लगभग सबै स्टेपहरू सिकीसकेकी छु ।'
आखिरमा नन्दिताले कन्टेम्प्रोरी डान्स सिक्नुको कारण के त ? उनी भन्छिन्, 'कन्टेम्प्रोरी डान्समा गीतको भावलाई बुझ्न सकिन्छ । र, मैले 'लैजा रे...' र 'शान्ती लुकाउँ कहाँ...' बोलको गीत मार्फत नेपालको वर्तमान परिस्थितीलाई झल्काउने प्रयास गर्न लागेकी छु ।' गाउँबाट काठमाण्डौमा दु:ख गर्न आएका मानिसहरूको कथा र देशको राजनैतिक अवस्थालाई पनि चित्रण गर्दै सो गीतहरूमा कथा बनाएर डान्स गर्न लागेको नन्दिताको भनाई छ । बिशेष गरि यो कन्टेम्प्रोरी डान्स मलेसिया र साउदीमा हुने स्टेज शोमा प्रस्तुत गर्ने नन्दिताले बताईन् ।