निर्देशक दिपेन्द्र के खनाल अहिले निकै व्यस्त छन् । 'द युगदेखी युगसम्म' र 'धर्मा' चलचित्रका निर्देशक खनाललाई पछिल्लो चलचित्र 'चपली हाईट' ले व्यस्त बनाएको हो । अहिले यो चलचित्रको छायाँकन काठमाण्डौको बुढानिलकण्ठ नजिकै रहेको चपली भन्ने स्थानमा भईरहेको छ ।
तीन दिन अघि शुरू गरिएको सो चलचित्र बुढानिलकण्ठ नजिकै रहेको चपली हाईटमा रहेको एक घर भित्र घटेको घटनालाई लिएर निर्माण गरिएको निर्देशक खनालको भनाई छ । उनका अनुसार सो घरमा केहि समय पहिला तीन जना युवा केटाकेटी बिच घटेको घटनालाई लिएर फरक ढंगमा चलचित्र निर्माण गरिएको हो । आफ्नो लक्ष्य नै अफट्र्याक फिल्म बनाउने रहेको भन्दै यो चलचित्र पनि अफट्र्याक नै हुने दिपेन्द्रले फिल्मीखबरलाई बताए ।
आष्मा फिल्म्सको व्यानरमा निर्माण शुरू गरिएको सो चलचित्रमा मिसन पैसा डेब्यू हिरो अमिर गौतम, मोडलद्वय बिनिता बराल र राज घिमिरेको मुख्य भुमिका रहेको छ । नयाँ अनुहारसँग काम गर्न रमाईलो मान्ने निर्देशक खनालले यि कलाकारहरूले सोचे भन्दा राम्रो काम गरेको बताए । उनले भने, 'तीन दिनमै मैले उनीहरूको स्वाभावलाई बुझिसकेको छु । मेरो लागी यि तीन जना प्रफेक्ट कलाकार हुन् ।' यता कलाकारहरू पनि दिपेन्द्रको कामबाट निकै खुसी छन् ।
निर्देशक खनालकै कथा रहेको सो चलचित्रमा निर्माता अर्जुन कुमारको संगीत, भुपेन्द्र खड्काको गीत तथा निरज कडेलको छायाँकन रहेको छ । चलचित्रको छायाँकन करिब एक महिनामा सक्ने लक्ष्य राखिएको निर्देशक खनालले बताए ।