भटाभट निर्णय गरेर चर्चामा आएको चलचित्र विकास बोर्डका अधिकांश निर्णयहरु कार्यान्वयन हुन सकेका छैनन् । राजनितिक नियुक्ति हुने बोर्डमा माओबादी सर्मथित गणेश भण्डारी दोस्रो कार्यकालका लागी नियुत्त भए पछि उनको कार्यसमितीले चलचित्रकर्मीहरुले उठाएका बिभिन्न मागलाई सम्बोधन गर्दै बिभिन्न निर्णयहरु गरेको भए पनि अधिकांश निर्णयहरु आजसम्म कागजमा मात्र सिमित छन् ।
बोर्डको पहिलो बैठकले यसअघि राज्यले तीन जना चलचित्रकर्मीहरुलाई प्रदान गर्दै आएको बृद्ध भत्ता बढाएर ५ जनालाई दिने निर्णय गरेको थियो । जसमा भत्ता पाउदै आउनु भएकी बरिष्ठ अभिनेत्री स्वर्गिय शान्ती मास्केको निधन भएका कारण ३ जनाको नाममा बोर्डले निर्णय लिनु पर्ने हो । तर आजको मितिसम्म पवम मैनाली बाहेक अन्य ब्यत्तिहरुको नाममा टुङ्गो लगाउन बोर्ड असमर्थ देखिएको छ । निर्णय गरेको २ महिना बितिसक्दा पनि बोर्डले अझै यसमा छलफल भैरहेको जनाएको छ । बोर्डका अध्यक्ष गणेश भण्डारीले चलचित्रकर्मीहरुबाट बिभिनन नामहरु सिफारिश भए पनि बिबाद रहित तरिकाले यसको निर्णय लिन खोज्दा केही ढिला भएको बताएका छन् । उनले राज्यले सम्मान गरेको व्यक्ति भन्दा गौरब हुने व्यक्तिको खोजी भैरहेको जनाएका छन् ।
यता शनिबार बाहेकका दिनमा बिहानी शो हटाउने भनी पहिलो् बैठकमै निर्णय गरेको भए पनि आज सम्म कार्यान्वयन नहुनुमा कानुनी ब्यवधान रहेको भण्डारीको भनाई छ । उनका अनुसार सञ्चार मन्त्रालयबाट नियमावली तयार पारी कानुन मन्त्रालयमा पठाए पछि बोर्डलाई नियमावली प्राप्त हुने र त्यसपछि मात्र बिहानी शोमा रोक लगाउन सकिने भण्डारीको भनाई छ । उनले बिभागीय मन्त्री परिवर्तन भएको बताउदै बिदेश भ्रमणमा रहेका सचिब आए पछि यो कार्यले तिब्रता पाउने जनाएका छन् । उनका अनुसार केही हप्तामा यो निर्णय ब्यवहारमा लागु हुनेछ ।
यस्तै भर्खरमात्र हल तथा चलचित्रको बर्गीकरणको् मापदण्ड तयार गर्न गठीत समितीको प्रतिबेदन आइपुगेको जनाउदै भण्डारीले त्यसमा गहन अध्ययन र छलफल गरेर चलचित्रकर्मीहरुको बिचमा पुर्याईने बताएका छन् । चलचित्रकर्मीहरु सँगको छलफल पछि जे-जस्तो निस्कर्ष निस्कन्छ त्यसैमा सहमति खोजी लागु गरीने भण्डारीको भनाई छ । भण्डारीले प्रतिबेदन नै सार्वजनीक नभएको अवस्थामा केही चलचित्रकर्मीहरुले प्राबिधिक रुपमा चलचित्रको बर्गीकरण गरेर बिचारलाई मार्न खोजे भन्दै हिडेको बताउदै उनिहरुलाई आधा भरिएको गाग्रीको संज्ञा दिएका छन् । उनले भने, 'त्यो गाग्री पुरा भरीएको भए छछल्किने थिएन । गाग्री आधा भरीएको भएर छछल्किएको हो ।'
बिचारलाई नमारेको बताउदै भण्डारीले बिश्व सिनेमाको इतिहास र नेपालको चलचित्र क्षेत्रलाई समेत हेरेर चलचित्रको बर्गीकरण मापदण्ड तयार गरीएको उनको भनाई छ । बिचार प्रदान चलचित्र होस वा मौलिक कथा बोकेका चलचित्रहरु हुन त्यस्ता चलचित्रलाई प्रोत्साहन गर्नका लागी बिशेष चलचित्रको अवार्ड दिने गरेको बताउदै भण्डारीले मौलिक कथाबस्तुलाई बोर्डले सधै प्रोत्साहन गर्ने जनाएका छन् । बोर्ड स्वयत्त नभएका कारण कतीपय अवस्थामा बोर्डले गरेका निर्णयहरु कार्यन्वयन गर्दा बिभिनन्न चरणहरु पार गर्नुपर्ने भएका कारण केही निर्णयहरु लागु हुन ढिलाई भएको भण्डारीको भनाई छ । तर आफुहरुले सिङ्गो चलचित्र क्षेत्रको हितका लागी गरेका निर्णय कार्यन्वयन भै छाड्नेमा उनी विश्वस्त छन् ।