स्कटल्याण्ड स्थित नेपालीहरुको क्रियाशील संस्था अर्गनाइजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयर (ओण्क्व) को संयोजनमा अगस्ट १ तारिख सोमवार ग्लास्गो शहरमा 'प्रथम स्कटल्याण्ड हिमालयन फिल्म फेस्टिबल' को आयोजना गरियो । विदेशमा नेपालको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त फिल्म फेस्टिबलमा ओस्कारमा मनोनित एरिक भ्याली निर्देशित फिल्म 'क्याराभान', भूषण दाहालको चर्चित फिल्म 'कागबेनी', निएसा नि किएनेन निर्देशित 'फेयरी टेल अफ काठमाडौं', मोहनी मैनाली निर्देशित 'पुनेको पाइन्ट' र दिपक रौनियार निर्देशित 'चौकठ' गरी पाँचवटा फिल्महरु प्रदर्शन गरिएका थिए ।
फिल्म फेस्टिबलका लागि युनिभर्सिटी अफ ग्लास्गोले थिएटर हल उपलब्ध गराएको थियो । फिल्म फेस्टिबलको अन्य आयोजकहरुमा लण्डन छलफल, ग्लास्गो नेपाली एशोसिएशन र ग्रामनेट (युनिभर्सिटी अफ ग्लास्गो) रहेका थिए । कार्यक्रममा उपस्थित दर्शकहरुले नेपालको संस्कृति, सुन्दरता तथा फिल्मको कथावस्तुले आफूहरु प्रभावित भएको प्रतिक्रिया दिए । कार्यक्रममा उपस्थित डा. अर्जा मिडोज (ओबिई)ले नेपाली फिल्म, डकुमेन्ट्रीहरु स्तरीय रहेको जनाउँदै स्कटल्याण्डमा रहेका नेपाली समुदायको प्रयास प्रशंसनीय रहेको बताइन् । यस्तै ग्लास्गो विश्वविद्यालयका लेक्चरर किथ हामोण्डले वृत्तचित्रहरुबाट नेपाली सामाजिक, सांस्कृति परिवेशबारे आफूले जान्न पाएको राय ब्यक्त गर्दै कागबेनीजस्ता स्तरीय फिल्महरुको अझ प्रवर्द्धन गरिनु पर्नेमा जोड दिए ।
नेपाल भ्रमण गरिसकेकी स्कटल्याण्डकी जेनिश बिन्नीले यस्ता फिल्म फेस्टिबलहरुले नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने प्रतिक्रिया दिइन् । ग्लास्गो नेपाली एशोसिएशनका अध्यक्ष मोहन कार्कीले विदेशी दर्शकहरुको उल्लेख्य सहभागिताले आगामी कार्यक्रमहरुको लागि राम्रो सन्देश दिएको राय ब्यक्त गरे । फिल्म फेस्टिबलमा सहभागिता जनाएका 'फेयरी टेल अफ काठमाडौं' का प्रमुख पात्र प्रख्यात आइरिस कवि कायल ओ सर्काइलले पहिलो पटक सार्वजनिक कार्यक्रममार्फत उक्त डकुमेन्ट्रीमा आफूलाई यौन पर्यटकको रुपमा गलत ढंगले प्रस्तुत गरिएको बताए । आइरिस कवि कायलले उक्त डकुमेन्ट्री गलन रुपमा सम्पादन गरिएको र डकुमेन्ट्रीमा संलग्न पात्रहरुलाई पुन जानकारी लिएमा पनि प्रस्ट हुने बताए ।
अर्गनाइजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयरका अध्यक्ष दिपेश रेग्मीले 'प्रथम स्कटल्याण्ड हिमालयन फिल्म फेस्टिबल' स्कटल्याण्डका अन्य शहरहरु एडिनब्रामा र एबरडिनमा पनि हुने जानकारी दिदै संस्थाले यस्तै कार्यहरु निरन्तर गर्ने योजना रहेको बताए । सो संस्थाले यस अघि गायक कुमार कान्छाको उपचार सहयोगार्थ स्कटल्याण्डको तीन शहरमा सांगीतिक कार्यक्रमहरु गरेको थियो भने काठमाडौं अपांग पुनस्र्थापना केन्द्र सहयोगार्थ सांगीति कार्यक्रम, भानु जयन्तीमा अन्तर्राष्ट्रिय कवि गोष्ठी लगायत स्कटल्याण्डमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरुमा सहभागिता जनाउँदै आइरहेको छ ।