निर्देशक सोभित बस्नेतका हर्कतहरू बेलाबेलामा चर्चा परिचर्चामा आईरहन्छन् । मेसिन निर्देशकका रूपमा चिनिने बस्नेत धमाधम चलचित्र बनाउने कारणले नै यसखाले उपनामले चित्रित गरिएका हुन् । गुणात्मकता भन्दा व्यवसायिक सोचमा रम्ने गरेका बस्नेत यतिखेर भने नयाँ फण्डाले चर्चामा आएका छन् । अर्थात आफ्नै टाउकाको कपालको बेचबिखन कार्यमा ।
चलचित्र प्लानका लागि भनेर सोभितले कपाल मात्र पालेनन् कि कपाललाई २८ चिरामा बिभाजित पनि गरे । अर्थात उनको टाउकोमा २८ वटा लट्टा देख्न सकिन्छ । थोरै पैसा पाएपछि चलचित्र सुरू गरिहाल्ने यि निर्देशकले अब टाउकोको कपाल नै बेचेर भए पनि अर्को सिनेमाको गीत रेकर्डिङ शुरू नगर्लान् भन्न सकिन्न । किनभने उनको कपाललाई एउटा हजाम पसलेले दुई सय ५० को लट्टाको दरमा खरिद गर्न माग गरेछ ।
अब सोभितले २८ वटा लट्टा बेच्न पाए भने ७ हजार हात लाग्ने भयो । उस्तै परे उनले सो रकमले नयाँ चलचित्रको गीत रेकर्डिङ नै शुरू गर्दिन्छन् । नयाँ गेटअपका लागि २८ वटा लट्टा बनाएर सोभितले जति चर्चा पाए अहिले उनले कपाल बेच्ने भन्ने प्रसङ्गले पनि त्यत्तिनै चर्चा नपाउला भन्न सकिन्न । जे होस् नयाँ नयाँ फण्डा बोकेर आउने गरेका सोभितले यसपाली भने के नयाँ फण्डा ल्याउने हुन् त्यो हेर्न बांकी नै छ ।