सेन्सर बोर्डको नेतृत्व कर्मचारी वा चलचित्रकर्मीहरुबाट नै गर्ने भन्ने बिबाद चलिरहेका बेला सेन्सर बोर्ड भित्र भने खैलाबैला मच्चिएको छ । चलचित्र बिकाश बोर्डले यो क्षेत्रका सम्पुर्ण संघ सस्थाहरु सँग छलफल गरेर चलचित्र सेन्सर बोर्डको अध्यक्ष चलचित्रकर्मी नै हुनु पर्ने प्रस्ताव गरेको छ । यता कर्मचारीहरु भने सेन्सर कानुन अनुसार हुने हुदा चलचित्रकर्मीलाई त्यसको नेतृत्व दिन नहुने पक्षमा छन् ।
सेन्सर बोर्डमा रहेका कर्मचारी र नियुक्त भएका सदस्यहरुका बिचमा चलचित्रको सेन्सर प्रक्रियाका बारेमा आरोप प्रत्यारोप भइरहेको छ । पछिल्लो पटक चलचित्र किशानको एक दृष्यलाई लिएर अध्यक्ष महेन्द्र गुरागाई र सदस्य चेतन सापकोटाको बिचमा आरोप प्रत्यारोप चलेको हो । सदस्य सापकोटाले अध्यक्ष लगायत सेन्सर बोर्डमा रहेका कर्मचारीहरुले चलचित्रको आँखाले चलचित्र हेर्न नसकेको बताएका छन् तर यो कुरा अध्यक्ष गुरागाईले स्विकार गर्दैनन् । सापकोटाका अनुसार समाजमा नराम्रो असर नपर्ने कतिपय अवस्थामा चलचित्र भित्र कथालाई मजबुत बनाउन प्रयोग गरिने दृष्य र संवादलाई सेन्सर गरिदिदा चलचित्रको भाव मर्न जान्छ । त्यसैले चलचित्रको आँखाले चलचित्र हेरी सेन्सर गर्न जरुरी छ । तर अध्यक्ष गुरागाईले चलचित्रको सेन्सर कानुन अनुसार गरिने भन्दै कानुननै परिवर्तन गर्न चुनौति दिएका छन् । उनले कानुन अनुसार सेन्सर गरिने बताउदै कानुन भन्दा बाहिर केही नगरिने जनाएका छन् ।
सापकोटाले चलचित्रमा खलनायकलाई सामन्ती र क्रुर देखाउनका लागी उसले नायिकाको टाउकोमा आफ्नो खुट्टा राखि टाउको निचोरेको दृष्य उपयुक्त भए पनि अध्यक्षले कानुन अनुसार महिला हिंसा भन्दै त्यस्तो दृष्य काट्न लगाएको बताएका छन् । यो दृष्य बारे अध्यक्ष गुरागाईले क्रुरता देखाउन अरु तरिकाहरु भए पनि यस्ता दृष्यले महिलाहरुको अपमान हुने ठहर गरिएको बताए । त्यति मात्र कहाँ हो र केही समय अगाडी चलचित्र बजारको सेन्सर गर्ने क्रममा रेड एरियामा छापा मार्ने प्रकृतिको दृष्यमा एक सडक बालकले प्रयोग गरेको 'रण्डी' भन्ने शब्द समेत सेन्सरले काटेको थियो । यो संवाद काट्ने बेलामा पनि बोर्ड भित्र खैलाबैला मच्चिएको थियो । त्यतिबेला पनि नियुक्त सदस्यहरु चलचित्रको शिलसिला अनुसार त्यो संवाद काट्नु नपर्ने पक्षमा थिए भने बोर्डका अध्यक्षले काटी छाडे ।
पछिल्लो समय चलचित्र सेन्सर बोर्डमा हरेक जसो चलचित्रको सेन्सर गर्दा बिबाद हुने गरेको छ । सदस्यहरु अध्यक्षलाई मनोमानी गरेको तथा चलचित्रको आँखाले हेर्न नसकेको आरोप लगाउछन् भने अध्यक्षले चलचित्रकर्मीहरुले कानुन माथि गएर चलचित्र सेन्सर गर्न खोजेको आरोप लगाएका छन् । चलचित्र सेन्सर बोर्डको दायरा कम भैरहेको भन्दै बोर्डका सदस्य सापकोटाले अध्यक्ष गुरागाईलाई चलचित्र क्षेत्रका सरोकार बालासँग सर्वपक्षिय छलफल गर्न माग गरेपनि उनले त्यसलाई आलटाल गरीरहेको जनाएका छन् ।
सेन्सर बोर्ड पटक पटक आलोचित हुदै आएको छ । एकपटक सबैसँग छलफल गरेर चलचित्रकर्मीहरुको राय बुझ्न खोज्नु राम्रो हो । तर अध्यक्ष गुरागाईले चलचित्र सेन्सर गर्दा आफुलाई मन परे राम्रो नपरे नराम्रो भन्ने गरेको सदसयहरुको आरोप छ । कतिपय अवस्थामा समाजमा घट्ने घट्नाहरुलाई हाम्रो परिवेशमा भै रहेका क्रयाकलापहरुलाई चलचित्रमा देखाउदा चलचित्रको कथा बस्तु अनुसार सहि छ र त्यसले समाजमा नकारात्मक प्रभाव पादैन भने सेन्सर गर्न जरुर नभएको चलचित्रकर्मीहरुको तर्क छ । हेरौ आगामी दिनमा बोर्ड भित्रको खैलाबैलाले कस्तो रुप लिने हो ।