बाबुको बाटो पछ्याउदै नेपाली चलचित्रमा आएकी रागिनी खड्गीले छोटो समयमा नै आफुलाई ब्यस्त बनाउन सफल भएकी छन् । द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीको परिचय बोकेकी रागिनीले अब त्यो परिचयलाई बदल्दै नायिका रागिनीको परिचय बनाएकी छन् ।
आज भन्दा धेरै वर्ष पहिला चलचित्र 'देश प्रदेश' मा बाल कलाकारको भुमिकामा अभिनय गरेकी रागिनीले त्यसपछि ईश्वर, सगुन लगायतका केही चलचित्रमा अभिनय गरेकी थिइन् । बिचमा आफ्नो अध्यनलाई निरन्तरता दिनका लागी चलचित्रबाट टाढा रहेको उनको बाबु राजेन्द्र बताउँछन् । शोभित बस्नेतले निर्देशन गरेको चलचित्र 'प्लान' बाट नायिकाको रूपमा डेब्यू गरेकी रागिनी अहिले व्यस्त बन्दैछिन् ।
बाबुको सिफारीसमा काम गर्ने गरेको भन्ने हल्ला चले पनि राजेन्द्र भने यो कुरा मान्न तयार छैनन् । रागिनी एउटा राम्रो कलाकार भएको बताउदै उसको कामलाई हेरेर नै निर्देशकहरूले आफ्नो चलचित्रमा लिने गरेको राजेन्द्रले बताए । खासगरी पछिल्लो चलचित्रमा एक्सन देखि लभर गर्ल सम्मको काम गरेकी नायिका रागिनीलाई त्यहि चलचित्रले व्यस्त बनाएको राजेन्द्रको दाबी छ ।
स्नातकोत्तर पढ्दै गरेकी रागिनीले अहिले श्याम राई र मदन घिमिरेको चलचित्रमा काम गर्ने सम्झौता भैसकेको छ । यता दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र 'मेरो जीवन साथी' मा पनि रागिनी मुख्य नायिकाको रूपमा प्रस्तुत हुँदैछिन् । लभर गर्ल बनेर अभिनय गर्न लागेको सो चलचित्रको छायाँकन भाद्र महिनाको शुरूवातमा गरिंदै छ ।
चलचित्रको राम्रो व्याकग्राउण्ड पाएकी र पढाई पनि राम्रो भएकी रागिनी चलचित्र क्षेत्रमा आउँदा राजेन्द्र मात्र हैनन चलचित्रकर्मी पनि खुसि छन् । चलचित्रलाई रागिनीले नजिकबाट नियालेकोले यस क्षेत्रमा उनको भविष्य राम्रै देख्न सकिने चलचित्रकर्मीको भनाई छ । बाल कलाकारमा उनलाई दर्शकले स्विकार गरे पनि नायिका बनेको चलचित्र भने भर्खरै मात्र सुटिङ सकिएको छ । त्यसैले पनि उनले कस्तो काम गरेकी छिन् भनेर यसै भनिहाल्न सक्ने अवस्था भने छैन । उनले कस्तो काम गरेकी छिन् त्यो त समय आएपछि थाहानै हुन्छ तर अहिले भने उनलाई यस क्षेत्रमा स्वागत गर्दै सफलताको शुभकामना !