चलचित्रमा काम गरेको पारिश्रमिक नपाए पछि प्राबिधिकहरुले बाइसियलको सहायता लिएका कारण निर्माता रम्भा ओली फरार भएका छन् । चलचित्र वीरको निर्माण गरेका ओलीले प्राबिधिकहरुलाई काम प्रारिश्रमिक दिन नसक्दा प्राबिधिकहरुले माओबादी निकटको बाइसियलको सहायतामा पारीश्रमिक असुल गर्न खोजेखोजे पछि उनी फरार भएका हुन् ।
पैसाको अभावमा चलचित्रको सुटिङ समेत अवरुद्ध भएको यस चलचित्रको बाँकि छायाँकन पनि सुरु हुन सकेको छैन । यता छायाँकन भइसकेको भागको सम्पादन भै रहेको कालिगण्डकी सिने म्याक्स प्रालिमा पनि निर्माताले पैसा नदिए पछि सम्पादन अबरुद्ध भएको छ । कालिगण्डकीका सञ्चालक राहुल केसीले बताए अनुसार निर्माताले पैसा नदिएपछि अहिले सम्पादन रोकिएको हो ।
निर्देशक दिपक श्रेष्ठले दिएको जानकारी अनुसार उनलाई निर्माता र चलचित्रको बारेमा केही जानकारी छैन । आफु चलचित्र पुरानो हुदैन मायाको छायाँकनमा ब्यस्त भएको बताउदै उनले यो चलचित्रको काम सकिएपछि वीरको बाँकि काम अगाडी बताउने बताएका छन् । उनले दिएको जानकारी अनुसार नायक दिलिप रायमाझिको अभिनय रहने केही दृष्यको छाँयाकन बाँकि रहे पनि अन्य भाग सकिएको छ । निर्देशक श्रेष्ठका अनुसार अब करिव दुई दिनमा बाँकि छायाँकन सकिने छ ।
चलचित्रको छायाँकन रोकिनु, पारिश्रमिक लिन प्राबिधिकहरुले बाइसियलको सहायता लिनु र अहिले फेरी सम्पादन समेत रोकीएको अवस्थामा निर्माता कै खोजी चौतर्फि भइरहेको छ । निर्माता कहाँ छन् ? के गर्दै छन् ? भन्ने बारे युनिटका अन्य कसैलाई थाहा नभए पनि कालिगण्डकीका राहुलले भने आफुले हनुमान ढोका प्रहरीमा भएको सुनेको बताएका छन् । तर उनले यो कुरालाई यकिनका साथ भने भन्न नसक्ने बताए । निर्माता ओलि किन त्यहाँ पुगेका हुन भन्ने बारे उनि पनि अनभिज्ञ रहेका छन् ।
यता चलचित्रका एक प्राबिधिक तिलक कार्कीका अनुसार निर्माताको खोजि बाइसियलले पनि तिब्र रुपमा गरीरहेको छ । करीब ४० दिन सुटिङमा काम गरेको बताउदै कार्कीले आफु जस्तै अन्य प्राबिधिकहरुले पारिश्रमिकका लागी बाइसियललाई गुहारेको जनाएका छन् । पोखरा, काठमाडौ, दाङ लगायतका सथामा छायाँकन गरीएको चलचित्रमा रेखा थापा, यश कुमार, दिलिप रायमाझि लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।