पछिल्लो समयमा निकै सक्रिय बनेको हल अनुगमन समितीले पोखराको कल्पना हल बन्द गराएको करिब एक सातामा नै बिरगञ्ज आसपासका तीन हललाई एकै पटक १५ दिने अल्टिमेटम दिएको छ । बिरगञ्जको सत्या हल र जितपुरका शिब पार्वती र जय लक्ष्मी हललाई नविकरण नगरेकोले १५ दिन भित्र नविकरण गर्न समितीले अल्टिमेटम दिएको हो ।
समितीका प्रवक्ता चेतन सापकोटाको साथमा सदस्यहरू उदय सुब्बा, राजु केसी र अनुपम निरौलाको टोली बिरगञ्ज पुगी छड्के जाँच गरेका थिए । सो छड्के जाँचका क्रममा ति हलहरूले लामो समय देखि बिना नविकरण कर छल्दै गैर्हकानुनी ढंगले हल सञ्चालन गरिरहेकोले यथासिघ्र राज्श्व बुझाई नविकरण गर्न १५ दिने अल्टिमेटम दिएको प्रवक्त सापकोटाले फिल्मीखबरलाई जानकारी गराए । १५ दिन भित्रमा नविकरण नगराए हल बन्द गराउने चेतावनी समेत समितीले दिएको छ ।
यसैगरी जय लक्ष्मी हलमा सेन्सर नगराई एक भोजपुरी चलचित्र चलाई रहेको बेला समिती पुगेपछि हल सञ्चालक अहिले फरार रहेको सापकोटाले बताए । उनले भने, 'सेन्सर नगरेको फिल्म चलाएको थाहा पाए पछि हल सञ्चालकलाई भेट्न खोज्दा उनी त्यहाँबाट भागे । अहिलेसम्म उनी सम्पर्कमा आएका छैनन् । सम्पर्कका आउने बित्तिकै हामी स्पष्टिकरण माग्ने छौं ।'