मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हामी पनि फोगटमा चलचित्र हेर्दैनौं

सचिन घिमिरे, काठमाण्डौ, 2011/08/08

चलचित्र निर्माण केवल कसैलाई पर्दामा नचाउनु, हँसाउनु, उफार्नु र थचार्नु मात्र नभई कुनै समाजको मिहिन रुपले गरिने कलात्मक चित्रण हो । प्रत्येक समाज अनेक किसिमका आयाम, रंग र अन्तर विरोधहरुले निर्माण भएको हुन्छ । यिनै सामाजिक आयाम र अन्तर विरोधहरुको सुक्ष्म अध्ययन गरेपछि चलचित्रको लागी आवश्यक चलचित्रिय द्दन्द तयार हुन्छ । त्यस्तै सामाजिक मुद्दाहरुको गहिरो ज्ञान भएपछि मात्र सामाजिक अन्तर विरोधहरुको सिर्जनात्मक अभिव्यक्तिमा सहयोग पुग्दछ  ।

 

चलचित्र 'के यो माया हो' मा पछिल्लो समयमा युरोप तथा अमेरिकामा फैलदै गएको लिभ इन टुगेदर संस्कृतिको अचकल्टो प्रतिविम्व दिन खोजीएको छ । विवाह नगरिकन सँगै वस्ने यस्तो संस्कृति दक्षिण एसियामा त धेरै नौलो कुरा हो । स्वयं युरोपीयन तथा अमेरिकन समाजमा पनि विवादमुक्त र समाजद्दारा निरपेक्ष रुपमा स्विकार गरिएको अवस्थामा अवश्य छैन । नेपालमा यस्तो चलन एकाध रुपले कतै कतै भर्खर भर्खर शुरु हुँदै छ । नेपालको सर्न्दभमा यो मुद्दाको प्रस्तुती, धरातलीय यथार्थ, चलचत्रिले देखाउन खोजेको परिवेश र उपस्थित पात्रहरुको प्रतिनिधित्वमा सन्तोषको श्वाश फेर्ने ठाउँ कतै भेटिएन ।  एक त मुद्दाको गहिराइ नै मनन नगरिकन निर्देशक थापाले यस्तो मुद्दामा चलचित्र वनाउन जुन हतारो गरे, त्यस्को फलस्वरुप कमजोर कथा र कमजोर पटकथाको संयोजन भएको एउटा उत्कृष्ट उदाहरणको रुपमा यो चलचित्र प्रस्तुत हुन पुगेको छ । नायिका सिता र नायक रामको विचमा गहिरो प्रेम सम्वन्ध हो वा होइन दर्शकलाई अलमलमा नै राखेर नायिका जव सम्वन्धमा अपेक्षा र औचित्य खोज्न थाल्छिन् त्यही वेला देखि नै कथामा धमिरो लाग्न थाल्दछ । अनि दर्शक हाई काढ्न थाल्छन् ।


नयाँ कथा भएकोले चलचित्र शुरु भएको केहि समयसम्म अन्य सुत्रमार्गी चलचित्र जस्तै कथाको अन्त्य अनुमान गरिहाल्न नसिकए पनि अर्थ न वर्थ गोविन्द गाई टाउको दुखेको औषधी नाइटोमा लाई भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै ट्याक ट्याक दुई सट परिवर्तन हुँदा गित नै गाउनको लागी पोखरामा भएका कलाकारहरु विना कुनै सर्न्दर्भ  नाचगानको लागी जव जोमसोम पुग्दछन् तव नेपाली चलचित्रहरुमा भेटिने हरि बिजोगको झाँकि त्यहिंबाट शुरू हुन्छ । गित राख्नु नै छ भने कमसेकम सन्दर्भ त मिलाउनु पर्दछ भन्ने न्युनतम ज्ञान पनि घैंटोमा छोपेर राखिन्छ । पात्र, परिवेश र परिस्थीती विचमा पानी वारावार सम्वन्ध देखिएको यस चलचित्रमा पात्रहरुको लवाइखवाइ, उनीहरुले कार्यालयमा गर्ने काम र उनीहरुको वसोवास विचको तादम्यता हावामा नै भुर्र भुर्र उडेर समाउनै गाह्रो भएको छ ।

 

कार्यालयमा गएर एउटा हस्ताक्षरको लागी हाकिमको ज्यु ज्यु गर्नुपर्ने साधारण कर्मचारीहरु आफुले चाहेको रंग भित्तामा पोत्न सक्ने, कोठामा अत्याधुनिक साउण्ड सिस्टम, टेलिभिजन राखेर डाइनिङ सेट सहित कार चढने हैसियतको देखाएर चलचित्रमा पात्रहरुलाई आर्थिक रुपले नक्कली हैसियतवान वनाएर निर्देशक थापाले आफनो सक्कली निर्देशकिय हैसियतको लिलामी नै गरेका छन् । चलचित्रमा श्याम  र गीताका मातापीता गाउँवाट साधारण लवाई खवाईमा शहर आउँछन् । श्याम अर्काको कार्यालयका साधारण कर्मचारी हुन् । कृपया ! हामीलाई पनि वताईदिनुस न सौगात मल्ल अर्थात श्याम भन्ने पात्रले चढने कार चलचित्रमा किन र के आधारले देखाइएको हो ? कार नै देखाउनु थियो त चलचित्रको वजेट अनुसार हेलीकप्टर नै देखाएको भए पनि सकिने नै रहेछ । वरु हेलीकप्टर नै चढाएको भए नेपाली चलचित्र हलिउडको जस्तै पो हुन्थ्यो की !

 

चलचित्रको पर्दामा देखाइने एउटा कुकुरको पनि अर्थ दर्शकले खोज्दछ भने लाखौं पर्ने कार पर्दामा घर वनाउन नसकेर कोठा खोज्दै हिडने पात्रले दौडाइरहँदा हामी कसरी यस चलचित्रमा चरित्र अभिनेत्री घरबेटी दिदी जस्तै घरीघरी वेहोश नभई रहन सक्छौं र ? अझ आफ्नो घर छोडेर हिडेंको युवतीलाई पुरानो घरबेटीले अस्वाभावीक रुपमा गर्ने तनाववाट जुन चलचित्रिय द्वन्द सिर्जना गर्न खोज्नु भएको छ । त्यसले त झन् अर्को चरित्र अभिनेत्रीलाई जस्तै वान्ता हुन खोज्छ घरीघरी हल भित्र नै । एकपटक दिमाग लगाएर सोचौं त । के साँच्चै घरबेटीहरुले हाम्रो समाजमा त्यसरी कसैलाई हैरान गर्न मिल्छ ? कोठामा वसेकी राम्री युवतीलाई वावु छोराले नै आँखा सम्म लगाउनु पनि ठिकै होला । तर यो चलचित्रको पटकथाले सिधै कानुनी प्रश्न तेर्स्याईरहन्छ  । हे प्रभु ! कथित मुलधारे चलचित्र भन्दैमा धरातलीय यथार्थसँग गोरु वेचेको साइनो पनि नपर्ने त अवश्य होइन होला । कि हो ?



कथाको मुल द्वन्दलाई एकातिर छोडेर जव लामो समय सम्म चलचित्र सिताको लोग्ने को हो भन्ने प्रश्नको घेरामा घुमिरहन्छ । त्यती नै वेला कमजोर पटकथामा हतारले काम गरेको रहस्यहरु उजागर हुँदै जान्छ । अनि लाग्छ चलचित्रको नाम 'सिताको लोग्ने को हो ?' राखेको भए वढि फाइदा हुन्थ्यो कि ? सस्पेन्स चलचित्र रहेछ भन्दै अरु दर्शक पो ओइरि हाल्थे की ? सिताको लोग्ने खोज्न चलचित्रले जुन समय खर्च गरेको छ त्यो समय सम्पादकीय दृष्टीकोणवाट चलचत्रिको शुरुमा नै पात्र, प्रवृती र परिवेश स्थापना गर्न समय खर्चिएको भए हामीले पनि साँच्चिकै चलचित्रले ट्याक्क ट्याक्क सवै कुरा मिलाएछ है भन्दै सन्तुलित समिक्षा लेख्ने कसरत गर्थ्यो होला । व्यक्तिगत रुपमा आर्यन, शुष्मा, सौगात र अरूणिमाले आलोचना खेपिहाल्नु पर्ने धेरै ठुलो गल्ती कतै गरेका छैनन् । तर दुर्भाग्य पात्र र प्रवृती स्थापना नहुँदा उनीहरुका मिहेनतले कुनै जस पाएको छैन । चलचित्रमा मौन अभिव्यक्तीहरुको खडेरी नै छ । हाँस्य र एक्सनको फ्युजन गरेर  केही नयाँ पन दिन खोज्दा चलचित्र सम्हालिनै नसकिने गरेर नवरसमा पनि वेरसको हुन पुगेको छ । केवल एउटा हल्लै हल्लामा सिमित भएको छ ।


पहिलो चलचित्र कोरीयन चलचित्रवाट सगौरभ नेपालीकरण गरेका निर्देशकलाई अर्काको चलचित्र सगौरभ प्रतिलिपी उतार्नु र आफैले नयाँ सिर्जनामा दिमाग खियाउन पर्दा कती गाह्रो महसुस हुन्छ, यसपल्ट शायद राम्रोसँग मनन भएको हुन सक्छ । ध्वनी संयोजनको बिधामा पनि प्रयोग नै गर्नको लागी पनि दुई जना मानिसहरु एकअर्कामा जुध्दा टयाँका जुधेको जस्तो ध्वनी राख्नुको अलावा वरु नेपाली साँरगी रेटेको भए अझै नौलो प्रयोग हुन्थ्यो होला । कमसेकम नेपालीपन त आभाष हुन्थ्यो की ! छायाँकनको मामलामा खासै नयाँ पन छैन । बरू सुगमका संगीतहरू भने केहि हदसम्म सुन्न लायक छन् । चलचित्रको राम्रो पक्ष भनेको संगीत र ड्रेस डिजाईन हो ।


निर शाहलाई पर्दामा जुन तरिकाले उतारिएको छ त्यो अर्को विडम्वना नै साबित भएको छ । अरूणिमालाई फुच्चि नायिका र शुष्मालाई माहान नायिकाको रुपमा प्रस्तुत गर्न क्यामरा एङ्गलहरुसँग निर्देशकले गरेको चलाखीहरु चलचित्रका अन्य बिधाहरुमा पनि प्रस्फुटन हुन सकेको भए यस्ता चलाखीहरुले नेपाली चलचित्रउद्योग उभो लगाउन्थ्यो नै होला । तर चाहिएको ठाउँमा चलाखी नदेखीने र नचाहीएको ठाउँमा चलाखीने देखिने अचम्मको प्रयोगहरुवाट 'के यो माया हो' चलचित्र साँच्चिकै नै भ्रमपूर्ण सिर्जना हुन पुगेको छ ।


'मेरो एउटा साथी छ' चलचित्रवाट केहि सम्भावना वोकेर उदाएका निर्देशक थापा 'के यो माया हो' सम्मको यात्रामा नै नराम्रोसँग थला परेका छन् । चलचित्र 'मेरो एउटा साथी छ' मा अविकसित देशका संघर्षशिल चलचित्रकर्मीहरुले देशमा उपलव्ध स्रोत र साधन प्रयोग गरेर आफ्नो वलवुताले भ्याएसम्म विदेशी कथा नै भए पनि नेपालीकरण गर्ने सक्दो प्रयास नै गरेका थिए । यद्यपी, थुप्रै कमजोरीवाट ग्रसित भए पनि 'के यो माया हो' जतिको नाक खुम्चाउनु पर्ने अवस्था भने त्यस चलचित्रमा पटक्कै थिएन । वरु राम्रा विदेशी कथाहरुलाई नेपालीकरण गर्दा पो निर्देशकीय क्षमता अलीकती उजागर हुन्थ्यो कि भन्ने सुझाव दिन मन लागेको छ ।

 

यस चलचित्रको खलपात्र वावुले फोगटमा गोली हान्दिन भने जस्तै हामी पनि फोगटमा कसैको फ्री पासमा चलचित्र हेर्दैनौं । पैसा तिरेर हेर्न गएपछि आफुलाई लागेको विचार अभिव्यक्तीको स्वतन्त्रता प्रयोग गर्ने अधिकार सवैलाई छ । हामी चलचित्र हेरेपछि आलोचना गर्ने जमर्को गछौं । चलचित्र नै नहेरी कुरा काट्नेहरू भन्दा केही फरक त अवश्य नै होला हाम्रो प्रयास भन्ने लागेको छ  । अन्तमा , दर्शकको अपेक्षा चुर चुर गरेर नेपाली चलचित्र उद्योगले गदै आएको सदावहार वदनामको खेतीमा अर्को एउटा कोशेढुंगा थप्नु भएकोमा निर्माण टोली सबैलाई बधाई छ !