मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म स्टुडियोका लागि स्थलगत निरिक्षण

फिल्मीखबर, पोखरा, 2011/08/09

पोखरादेखि ३० किमि उत्तर-पश्चिम गाउँका बासिन्दा अहिले निकै खुसी छन् । आफ्नै घर आँगनमा केन्द्रिय फिल्म स्टुडियो बन्ने कुरा सुनेपछि उनीहरूमा खुसीको सिमा छैन । अझ सोमबार चलचित्र विकास बोर्डका पदाधिकारी र चलचित्रकर्मीहरू स्थलगत निरिक्षणका लागि उक्त स्थानमा पुग्दा त धिताल गाविसका बासिन्दाहरूको मुहारमा छुट्टै चमक देखिन्थ्यो ।

 

धिताल गाविस-८ उपल्लो अस्तामको ३ सय रोपनीभन्दा बढी सरकारी जग्गामा सरकारले केन्द्रीय स्टुडियो बनाउने निर्णय गरेपछि चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारी, अखिल नेपाल चलचित्रकर्मी संघका अध्यक्ष शिव लामिछाने, द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलगायत सो स्थानमा स्थलगत निरिक्षणका लागि पुगेका थिए । उनीहरूलाई धिताल गाविस बासिहरूले फूलमालाले स्वागत गर्दै उपल्लो अस्तामको ३ सय रोपनी जग्गा देखाएका थिए ।

 

सुन्दरताको हिसाबले अगाडी भएपनि विकासका हिसाबले पछाडी रहेको धिताल गाविसमा फिल्मको केन्द्रिय स्टुडियो नै बन्ने भएपछि आफ्नो गाउँ अब अन्तर्राष्ट्रिय स्तरमा चिनिने धिताल बासिले आश व्यक्त गरे । चलचित्र विकास बोर्डका अध्यक्ष भण्डारीले धिताल गाउँ पर्यटकीय , प्राकृतिक र भौगोलिक दृष्टिकोणले पनि उपयुक्त भएकाले केन्द्रीय स्टुडियोका लागि धिताल गाविसको उपल्लो अस्ताम छानेको बताए । स्थलगत र प्रारम्भिक धारण बुझ्न आएका भण्डारीले यो तीन बर्षिय योजना रहेको समेत बताए ।

 

चलचित्र स्टुडियो बनाउन मात्रै २ अर्ब रुपैयाँको योजना अघि सारिएको बताउँदै भण्डारीले जग्गा छनोट गरेपछि तारबार गर्ने र स्टुडियोका लागि भौतिक निर्माणको काम अघि बढाइने बताए । केन्द्रीय स्टुडियो निर्माण कार्य शुरू गरेपछि सुदूरपश्चिमको कोहलपुर र सुदूरपूर्वको झापा र मोरङमा क्षेत्रीय फिल्म स्टुडियो निर्माणको योजना समेत अघि सार्ने भण्डारीले बताए । दुई साताअघि फिल्म स्टुडियो निर्माणका लागि छलफलका लागि आएको विकास बोर्ड तत्काल निर्माणको काम सुरु गर्न पुनः धिताल गाविस आएको हो ।