नियम अनुसार नचलेको हलहरुलाई खारेजी गर्ने सम्मको अधिकार पाएको चलचित्र बिकास बोर्डले हल अनुगमन समिती गठन गर्दै पछिल्लो समय आफ्नो छड्के अनुगमनलाई तिब्रता दिएको छ । समितीका सदस्यहरू अहिले हलहरूको छड्के जाँचका लागि देश भ्रमणमा हिडेका छन् ।
हल अनुगमन समितीले हल जाँच गर्ने क्रममा केहि दिन अगाडी काठमाडौका मल्टिकम्प्लेक्स हलहरुमा अनुगमन गर्यो । अनुगमन गर्ने क्रममा केहि हलहरूले कर छलेको समेत भेटायो तर कारवाही भने भएन । अनुगमनका क्रममा समितीले केही हलहरुले टिकटमा कर छलेको भेटेको थियो । कर छलेर आर्थिक अपराध गरेको ठहर भएमा समितीले नियम अनुसार कारवाही गर्ने समेत बताएको थियो । नेपालको नियम न हो, दोषि पत्ता लागे पनि कारवाहि नहुने यो देशमा मनपरि नै छ ।
समितीले काठमाण्डौका हललाई कारवाही नगरे पनि मोफसलका हललाई भने कारवाहि गरेको छ । केहि दिन अगाडी मात्र पोखराको कल्पना हललाई कर छलेको आरोपमा समितीले कर नतिरेसम्म हल बन्द गर्ने आदेश दियो । तर बौद्व र कमलविनायक हललाई भने नेपाली चलचित्र चलाउँदै आएको भनेर अल्टिमेटम मात्र दियो । त्यसको लगत्तै बिरगञ्ज र जितपुरका तीन हलले पनि कर छलेको भेटेपछि समितीले १५ दिने अल्टिमेटम दिएको छ । यता मंगलबार समितीले जनकपुरको हनुमान टाकिजमा पोर्न फिल्म प्रदर्शन गरेको भेटेपछि सो हललाई बन्द गर्ने आदेश दियो ।
अहिले पनि समिती थाहै नदिई सुटुक्क हलहरूमा पुगेर अनुगमन गर्ने काम गरिरहेको छ । यसरी नविकरण नगरि कर छल्ने, सेन्सर नगरि चलचित्र चलाउने, अबैधानिक चलचित्र प्रदर्शन गर्ने हलहरू देशमा थुप्रै छन् । तिनको अनुगमन त गरिएला तर कारवाही सबैलाई होला त ? अनि हल सञ्चालकहरूले पनि आफ्नो गल्ती स्विकारी बैधानिक रूपले हल सञ्चालन गर्लान् त ? यदि निश्पक्ष रूपले कारवाही हुने हो भने देशका अधिकांश हल तत्काल बन्द हुनेछन् ।
समितीले शुरू गरेको कार्यको सबैले प्रशंसा गर्नु पर्छ नै तर कारवाही पनि सबैलाई नै हुनुपर्छ । कसैलाई काखा र कसैलाई पाखा गरिनु हुँदैन । आशा छ समितीले अबैध रूपमा सञ्चालन भईरहेका सबै हलहरू तत्काल बन्द गराएर कारवाहीको प्रक्रिया अगाडी बढाउने छ ।