अहिलेको वर्तमान परिप्रेक्ष्यमा नेपाली चलचित्रकर्मीहरूको एउटै सपना छ नेपाली चलचित्रले राम्रो व्यापार गरोस् र उधोग उँभो दिशा तिर लागोस् । तर त्यो सपना सपनामा नै सिमित बनेको छ । आश गरिएका सबै चलचित्रले निराशा जनक व्यापार गरेपछि चलचित्रकर्मीको सपना पूरा हुन नसकेको हो ।
'उडायो सपना सबै हुरीले..' बोलको गीत अहिले हरेक चलचित्रकर्मी त्यसमा पनि बढि निर्मातामा लागु हुने गरेको छ । चलचित्र रिलिज हुन्छ तर सोचे अनुरूपको व्यापार गर्दैन अनि उनीहरूको मुहार सधैं साउने भेल जस्तो धमिलो अझ भनौं कालो बादल छाउने गर्छ । तर पनि आश भने कहिल्लै मर्दैन । यहि आशा लिएका निर्माता मध्येका एक हुन बसन्त कुमार श्रेष्ठ । उनले निर्माण गरेको चलचित्र 'सपना' भाद्र २ गते सार्वजनिक हुँदैछ । यस चलचित्रबाट उनले राम्रो आश गरेका छन् ।
चलचित्रको कथाबस्तु राम्रो मात्र हैन कलाकारहरू पनि चलेका भएकाले व्यापार राम्रो हुनेमा श्रेष्ठ निकै आशावादी छन् । तर उनको सपना पनि पुरा हुन्छ या हुँदैन केहि भन्न सक्ने अवस्था छैन । एक त एकै समयमा धेरै चलचित्र बिचको भिडन्त अर्को दर्शकहरूमा निराशा अनि कसरी चलोस् फिल्म ? तै पनि आश गर्नु राम्रो हो । त्यसैले हामी पनि आश गरौं कि चलचित्रले निर्माता सहित सबैको सपना पूरा गर्नेछ ।
हरि बरालसँग मिलेर बसन्त कुमार श्रेष्ठले निर्माण गरेको चलचित्र 'सपना' लाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् । प्रेम कथामा आधारित रहेर निर्माण गरिएको सो चलचित्रमा राजेश हमाल, आर्यन सिक्देल, नन्दिता केसी, अर्जुन कार्की लगायतको अभिनय रहेको छ । महेश खड्काको संगीत रहेको चलचित्र सपनाका गितहरु अहिले चर्चामा छन् ।