लेखक शिबम अधिकारीले बन्दै गरेको चलचित्र 'पुरानो हुँदैन माया' को स्क्रिप्ट लेखे वापत पारिश्रमिक नपाए पछि निर्माता संघमा मुद्दा दायर गरेका छन् । आफूलाई थाहै नदिई सुटिङ गरेको र पारिश्रमिक पनि नपाएकोले त्यसको क्षतिपूर्तीको माग गर्दै उनले सेन्चुरी फिल्म्स बिरूद्व मुद्दा हालेका हुन् ।
चलचित्रका निर्देशक दिपक श्रेष्ठको आग्रहमा कथा तयार पारेका अधिकारीले बारम्बार पारिश्रमिक माग्दा पनि नदिएपछि यस्तो कदम उठाएको फिल्मीखबरलाई जानकारी गराए । उनले भने, 'मैले बारम्बार मेरो पारिश्रमिक दिनुस् भनेर आग्रह गरें तर उनीहरूले दिन मानेन् । त्यसपछि मैले मुद्दाको कदम उठाएको हुँ ।' निर्माता संघका अध्यक्ष राज कुमार राईलाई बुधबार दिउँसो एक पत्र लेखि दिएको अधिकारीको भनाई छ ।
निर्देशकलाई बिश्वास गरेर पारिश्रमिक पनि तय नगरी स्क्रिप्ट लेखेको र निर्देशक श्रेष्ठले केहि दिनमा पारिश्रमिक दिने बचन दिंदै स्क्रिप्ट लगेर सुटिङ शुरू गरेको शिबमको भनाई छ । उनी भन्छन्, 'यसरी धोका पाउँछु भन्ने थाहा पाएको भए त स्क्रिप्ट नै दिन्न थिएँ । बिश्वासको भरमा स्क्रिप्ट नै जिम्मा लगाए तर आज निर्देशकले म माथि बिश्वास घात गरे ।' आफू माथि भएको अन्याय भए पनि न्याय पाउनका लागि निर्माता संघलाई गुहार्न पुगेको शिबम बताउँछन् ।
यता चलचित्रका निर्माता निर्मल सेन्चुरीले भने यस बारेमा आफूलाई केहि ज्ञान नभएको बताए । आफू सुटिङमा व्यस्त रहेको बताउँदै सेन्चुरीले चलचित्रको स्क्रिप्टका लागि निर्देशक श्रेष्ठलाई पैसा दिईसकेको बताए । उनले भने, 'मैले त स्क्रिप्टको पैसा निर्देशकलाई दिईसकेको छु । अब उहाँले लेखकलाई दिनु भयो या भएन मलाई केहि थाहा छैन ।' उनले निर्देशकलाई कति पैसा दिए भन्ने बारे भने खुलाएनन् । यस बिषममा बुझ्न खोज्दा निर्देशक श्रेष्ठ भने सम्पर्कमा आएनन् ।
यसरी अर्काको कथाको पारिश्रमिक नदिई सुटिङ सुरू गरेपछि निर्देशक श्रेष्ठ ठग बहादुर भएका छन् । उनले लेखक अधिकारीलाई त ठगे ठगे निर्माता सेन्चुरीलाई पनि ठगेर स्क्रिप्टको रकम आँफै हात पारे । निर्देशक ज्यू पारिश्रमिक थोरै भएर त हैन यसरी अर्काको पारिश्रमिक पनि खोसेको !