केही समय यता नवनिर्देशकहरुको बाढी नै आएको छ नेपाली चलचित्रमा । त्यहि बाढिसँगै उनीहरूले सम्भावना पनि बोकेर आएका छन् । कति पढेर भित्रिएका छन् त कति अनुभवका आधारमा नयाँ सोचका साथ अगाडी बढ्ने भन्दै भित्रिएका छन् । नयाँ निर्देशकहरुको आगमनले पुराना निर्देशकहरुलाई केही सचेत भने गराएकै छ ।
मै हुँ भन्ने निर्देशकका चलचित्र भन्दा नवप्रबेशी निर्देशकहरुका चलचित्रले राम्रो तारिफ पाउनु, उत्ति नै मात्रमा चलचित्रको चर्चा हुनु र नवनिर्देशकहरु नै बिभिन्न अवार्ड कार्यक्रमहरुमा सर्वोत्कृष्ट निर्देशकको मनोनयनमा पर्नुले उनिहरुको आगमनलाई केही सुखद मान्न सकिन्छ । चलचित्र 'मेरो एउटा साथी छ' बाट नै चर्चा पाएका निर्देशक सुर्दशन थापा, 'निशाना' बाट डेब्यु गरेका सुरेश दर्पण पोखरेल, 'कुसुमे रुमाल-२' बाट चलचित्र क्षेत्रमा प्रबेश गरेका निरक पौडेल 'ब्याच नं १६' का पिताम्बर पाण्डे, 'कसले चोर्र्यो मेरो मन' का सबिर श्रेष्ठ मात्र हैन श्याम भट्टराई, आलोक नेम्वाङ, सिमोस सुनुवार, नवल नेपाल, सुरज सुब्बा नाल्बो, प्रशन्न पौडेल, दिपेन्द्र के. खनाल लगायतका निर्देशकहरुको कामको राम्रै प्रशंसा हुने गरेको छ । यि मध्ये केहि निर्देशकको को त हालिमुहाली नै छ भन्दा पनि फरक पर्दैन ।
पछिल्लो समय आएका यि निर्देशकहरु मध्ये धेरैले आफुलाई समय अनुसार परिवर्तन गर्न सफल भएको देखिन्छ । यति बेला नव निर्देशकहरु पुराना निर्देशकलाई आझेलमा पार्ने सफल देखिएका छन् । गएको २२ गते मात्र सार्वजनीक गरिएको सिजि डिजिटल सिनेमा अवार्डको मनोनयनमा समेत सर्बोत्कृष्ट निर्देशकको मनोनयनमा नयाँ निर्देशकहरुको मात्र नाम आए पछि यो कुराको थप पुष्टी भएको छ । यसरी सबिर श्रेष्ठ, पिताम्बर पाण्डे र रामशरण पाठक पहिलो चलचित्रबाट नै सर्बोत्कृष्ट निर्देशकको मनोनयनमा परेका छन् । यस्तै नवल नेपालले यसअघि तस्विर नामको भिडियो फिल्म निर्देशन गरे पनि श्रीमान ठुलो पर्दाको पहिलो चलचित्र हो भने सुरज सुब्बा नाल्बोले पनि यसअघि केही चलचित्र गरेपनि ठुलो पर्दाको चलचित्र भने 'बाटो मुनिको फुल' लाई नै मान्नु पर्छ ।
हुन त केही नव निर्देशकहरुले बिग बजेटमा चलचित्र बनाउने गरेको उदाहरण पनि छन् । तर औसत बजेटमै बनाएका चलचित्र पनि नवनिर्देशकहरुले राम्रो गर्ने गरेको बताइएको छ । धेरैले भन्छन्, 'नवनिर्देशकहरुले अहिलेका दर्शकहरूको मनोभावलाई राम्रोसँग बुझेका हुन्छन् । यसैले पनि होला उनीहरूको आगमनसँगै चर्चा पनि चुलिएको ।' हुनत भन्नेहरू यसो पनि भन्छन्, 'बुढो बाघको अगाडी तन्नेरी स्याल डराएकै हुन्छ ।' तर अहिलेको समयमा सत्य यहि नै हो कि यि तन्नेरी स्यालहरूबाट बुढा बाघहरूले केहि पक्कै सिक्नुपर्ने हुन्छ ।