सरकारले आइतबारबाट चलचित्रमा धुम्रपान दृष्यहरु राख्न नपाइने निर्णय गरेपछि यो निर्णय बहको बिषय बनेको छ । यो निर्णयसँगै अनुगमनको जिम्मा सेन्सर बोर्डले पाएको छ । अब चलचित्रको सेन्सर गर्दा बोर्डले यस्ता दृष्यरु आएमा कैंची लगाउन सक्नेछ ।
आइतबारबाट सरकारले सार्वजनिक स्थानमा धुम्रपान गर्न प्रतिबन्ध लगाउनुका साथै चलचित्रमा समेत प्रतिबन्ध लगाएपछि निर्माता संघ भने असन्तुष्ट देखिएको छ । निर्माता संघका अध्यक्ष राजकुमार राईले यो निर्णय चलचित्र निर्माणमा स्वतन्त्रता माथिको हस्तक्षेप भएको बताएका छन् । उनले शुक्रबार चलचित्र बिकाश बोर्डमा आयोजना गरिन लागेको अर्न्तक्रिया कार्यक्रममा यसबारे कुरा उठाइने जनाएका छन् । आफुहरुसँग छलफल नै नगरी यस्तो निर्णय गरिदा चलचित्रकर्मीहरु मारमा परेको उनको भनाई छ ।
त्यसो त चलचित्रका लागी केही समय दिएर यस्तो निर्णय गरेको भए पनि आफुहरुले कम्प्रमाइज गर्न सक्ने अवस्था रहे पनि अब बनिसकेका चलचित्रको हकमा भने यस्ता दृष्य हटाउन सम्भव नहुने राईको भनाई छ । उनले चलचित्रलाई समाजको ऐना मानिने बताउदै रक्सी चुरोट खानु हुदैन भन्ने सन्देश दिनको लागी पनि यस्ता दृष्यहरु राख्नै पर्ने जनाएका छन् । कतिपय अवस्थामा यस्ता दृष्यहरु चलचित्रको कथा अनुसार अत्यावश्यक हुने भन्दै राईले चाडै नै निर्माता संघको बैठक बसेर यसबारे सेन्सर बोर्डलाई पत्र काट्ने जनाएका छन् ।
यता निर्देशक समाजका अध्यक्ष केपी पाठकले यस्तो निर्णयले अब ड्रग्स बारे चलचित्र बनाउदा के गर्ने भन्ने प्रश्न उठाएका छन् । उनले कथा अनुसार कतिपय दृष्यहरुमा रक्सी र चुरोटको प्रयोग देखाउनै पर्ने बताएका छन् । उनले मोज मस्तीको लागी रक्सी चुरोट खाएको दृष्य नराखे पनि राख्नै पर्ने स्थानमा भने सेन्सर बोर्डले छुट दिनु पर्ने जनाएका छन् ।
केही समय अगाडी बलिउडमा पनि यस्तै घटना नघटेको हैन । त्यहाँको सरकारले चलचित्रमा धुम्रपानका दृष्यहरुमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि चलचित्रकर्मीहरुको ब्यापक बिरोध खेप्नु परेको थियो । अन्तत : त्यहाँ पनि चलचित्रको सुरुमै धुम्रपान स्वास्थ्यको लागी हानिकारक भएको कुरा उल्लेख गरेर यस्ता दृष्यहरु राख्न छुट दिइएको थियो । अहिले नेपालमा पनि चलचित्रकर्मीहरुले यसको ब्यापक बिरोध गर्न थालेपछि यहाँको सेन्सर बोर्ड चनाखो बनेको छ । सेन्सर बोर्डका अध्यक्ष महेन्द्र गुरागाईले बताए अनुसार चलचित्रकर्मीहरुको ब्यापक बिरोध हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै केही लचकता अपनाउने निर्णय गरेको छ ।
नेपालको सेन्सर बोर्डले पनि भारतकै सेन्सर बोर्डको सिको गर्दै चलचित्रमा धुम्रपानका दृष्यहरु राख्नै पर्ने भए अगाडी नै धुम्रपान स्वास्थ्यका लागी हानीकारक छ भनेर उल्लेख गर्नु पर्ने जनाएको छ । त्यसो त बोर्डले प्रचारात्मक तरीकाले यस्ता दृष्यहरु राखिएको पाइएमा त्यस्ता दृष्यहरुलाई कैचि चलाउने समेत जनाएको छ । सेन्सर बोर्डको यो निर्णयसँग चलचित्रकर्मीहरुले उठाएको बिरोधको आवाज कम हुने पक्का छ । यो निर्णयको निर्माता संघ र निर्देशक समाजले स्वागत गर्दै सेन्सर बोर्डलाई धन्यबाद समेत ब्यक्त गरेका छन् ।