प्राबिधिक हिसाबले सबल मानिएको चलचित्र 'ब्याच नं १६' हेर्न पाउनु भएको छैन भने ढुक्क हुनुहोस् । किनकी यो चलचित्रलाई तपाईंले चाहेको समयमा चाहेको ठाउँमा हेर्न सक्नुहुनेछ । हो, यस चलचित्रको डिभिडी आज शुक्रबारबाट बजारमा किन्न पाईने छ ।
गत बर्षको फाल्गुन महिनामा सार्वजनिक भएको चलचित्र 'ब्याच नं १६' लाई नेपाली चलचित्रको भिसिडी तथा डिभिडीको व्यवसाय गर्दै आएको हाईटेक इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो । केहि महिना अगाडी मात्र रेखा फिल्म्सको चलचित्र 'कस्ले चोर्यो मेरो मन' सार्वजनिक गरेको हाईटेकले दर्शकहरूको माग बढ्दै गएकाले रिलिज भएको केहि महिनामा नै 'ब्याच नं १६' सार्वजनिक गरेको जानकारी गरायो । हाईटेकका सञ्चालक राजेन्द्र मानन्धरले २७५ रुपैँया पर्ने उक्त डिभिडि गुणस्तरिय भएको दावी गर्दै चलचित्रमा अंग्रेजी सबटाईटल पनि रहेको बताए ।
साईलेन्स इन्टरटेनमेन्टको व्यानरमा पिताम्बर पाण्डेले निर्देशन गरेको यस चलचित्रलाई बिक्रान्त श्रेष्ठले निर्माण गरेका हुन् । करिब डेढ करोडको लगानीमा निर्माण बहेको दाबि गरिएको सो चलचित्रमा सुमन सिंह, अर्पण थापा, रूबी भट्टराई, शुष्मा कार्की, अनुप बराल लगायतले अभिनय गरेका छन् । सुगम पोखरेल, विक्रान्त श्रेष्ठ तथा किच चित्रकारको संगीत रहेको उक्त चलचित्र राष्ट्रिय हित विपरितका गतिविधि रोक्न मिसन लिएर हिंडेका दुईजना साथीबीच फाटो आएपछि हुने द्वन्दमा आधारित छ ।
चलचित्रमा छायांकन पुरुषोत्तम प्रधान, सम्पादन सुरेन्द्र पौडेल, द्वन्द्व रोशन श्रेष्ठ, नृत्य रेनेशा राई, पटकथा पीताम्बर पाण्डे र सोहिल, संवाद प्रदीप भारद्वाजको रहेको छ । यो चलचित्र भाद्र २२ गते बितरण गर्न लागिएको सिजी डिजिटल फिल्म अवार्डमा श्रृंगार, पार्श्व संगित, नृत्य निर्देशन, द्वन्द्व निर्देशन, सम्पादन, छायाँकन, पटकथा, खलपात्र, नव निर्देशक, सहअभिनेत्री, अभिनेता, निर्देशक र चलचित्र गरी १३ बिधामा नोमिनेशनमा पर्न सफल भएको छ ।