आज भोलि कसैले चलचित्र निर्माण गर्छु भने भने बिश्वास नगरे पनि हुने भयो । तामझामका साथ शुभ मुहूर्तु गरे भने पनि बिश्वास गर्न गाह्रो हुने भयो । मुहूर्तु गरे पनि चलचित्र निर्माण पुरा नहुञ्जेल चलचित्र बन्छ की बन्दैन भन्नेमा शंका गर्दा फरक पर्दैन । यसरी बिश्वास गुमाउने काम स्वयं निर्माताहरुले नै गरिरहेका छन् ।
प्रसंग हो चलचित्र निर्माण गर्छु भनेर नगर्ने निर्माताको । चलचित्र बनाउछु भनेर घोषणा गर्ने तर निर्माण शुरू नगर्ने थुप्रै निर्माताहरूको भिडमा प्रथम हुन सफल निर्माता हुन् मुरारी पोखरेल । एकैचोटि सातवटा चलचित्र निर्माण गर्ने घोषणा गरेर पनि एउटा चलचित्रको पनि निर्माण शुरू नगरेर उनी गफाडी निर्माताहरू मध्येबाट एक नम्बरमा पर्न सफल भएका हुन् । घोषणा मात्र हैन उनले कुपन्डोलमा संगीतकार महेश खड्काले सञ्चालन गरेको रेस्टुरेन्टमा ति सातै चलचित्रको मुहूर्तु समेत सम्पन्न गरेका थिए । घोषणाको एक वर्ष बितिसक्दा पनि आज सम्म एउटै चलचित्र बन्न सकेको छैन । बरु उनले घोषणा गरेको नाममा अरुले नै चलचित्र बनाइसकेका छन् ।
उनले संयोगको साथी, फूलविनाको बोट, पुरानो हुँदैन माया, बुबा, बैँशमा हेर होस गर, तिमीलाई म के भनूँ र हापुरे कान्छा गरी सात चलचित्रको घोषणा गरेका थिए । यति मात्र हैन उनले चलचित्रका निर्देशक र कलाकारहरुको समेत घोषणा गरेका थिए । जस अर्न्तगत संयोगको साथीको निर्देशन रञ्जित रानाले गर्ने बताइएको थियो भने पुरानो हुँदैन मायाको निर्देशन गर्ने जिम्मा दीपक श्रेष्ठलाई दिइएको थियो । यसैगरी बुबाको निर्देशन मदन घिमिरेले गर्ने जानकारी गराइएको थियो । बाँकी चलचित्रको पनि चाडै टुङ्गो लगाउने पोखरेलले बताएका थिए ।
सात मध्ये सबैभन्दा पहिला निर्माण सुरु गरिने बताइएको संयोगको साथीको कथा बुनिए पनि पटकथा र संवाद भने तयार पारीएको थिएन । फिल्ममा सुवास मेचे, युना उप्रेती, सुनिल थापा, शान्ति गिरी र बालकलाकार ओजेश पोखरेल प्रमुख भूमिकामा देखिने जानकारी गराइयो । विकास चौधरीको संगीत रहने चलचित्रमा शंकर अधिकारी घायल र निर्माता मुरारीको गीत रहने र हिमाल केसीको द्वन्द्व निर्देशन गर्ने बताइएको थियो । तर आज सम्म पनि यो चलचित्रको छायाँकन सुरु भएको छैन ।
अर्को चलचित्र पुरानो हुदैन मायाका निर्देशक दिपक श्रेष्ठले अहिले त्यहि नामको चलचित्र निर्देशन गर्दैछन् । तर पोखरेलको निर्माणमा भने होइन । आफु एकैचोटि आत्ति हाल्ने मान्छे नभएको बताउदै एकपछि अर्को चलचित्र निर्माण गर्ने जनाएका पोखरेलले एउटै चलचित्र निर्माण गर्न सकेनन् । यसअघि बुबाआमा र सूर्यचन्द्रको निर्माण गरे पनि ति चलचित्र अधुरै रहे ।
अब जमेर फिल्म बनाउने बताएका पोखरेल चलचित्रमा नभै अन्तै जमे जस्तो छ । त्यसैले उनि चलचित्र निर्माणमा आउन सकेनन् । यसरी मुर्हुत गरेर समेत चलचित्र बनाउन नसक्ने निर्माताले जोशैजोशमा चलचित्र निर्माणको घोषणा गर्दा अन्य निर्मातालाई समेत असहज भएको छ । त्यसो त घोषणा गरिएका कलाकार तथा प्राबिधिकहरुको पनि आश थियो होला चलचित्रबाट त्यो आश पनि गुमेको छ ।
देखाउनकै लागी गर्नै नसक्ने कामको थालनी किन गर्ने ? किन यहि चलचित्र क्षेत्रलाई नै गफ गर्ने तर काम नगर्ने थलो बनाउने ? गफै लगाउने हो भने गफ गर्ने ठाउँ प्रशस्तै छन् । चलचित्र क्षेत्रलाई ढाल बनाएर गफ गर्ने थलो नबनाईयोस् । टिभीमा र पत्रपत्रिकामा छाउने रहरलाई त्यागौं । काम गरेर देखाऔं गफ गरेर हैन ।