गुणस्तरिय चलचित्र निर्माण हुन नसक्दा नेपाली चलचित्र उद्योग धरासायी बन्दै गईरहेको झापाको दमकमा आज आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । दमकमा नेपाल चलचित्र विकास बोर्डले आयोजना गरेको गुणस्तरिय चलचित्र निर्माण र प्रदर्शनमा हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सो कुरा बताएका हुन् ।
सहभागीहरुले चलचित्रसंग सम्बन्धित आवश्यक ज्ञान, प्रविधि समय सापेक्ष विषयवस्तु र जनशक्तिहरुको प्रयोग विनै निर्माण गरिएका चलचित्रले गर्दा नेपाली चलचित्र दर्शकहरुले मन पराउन छाडेको बताइएका थिए । उनीहरुले चलचित्र चलाउनमा निर्माण पक्षसंग संगै चलचित्र घरहरुको पनि सुधार आवश्यक रहेको बताएका थिए । कतिपय अवस्थामा चलचित्र राम्रो निर्माण भएपनि चलचित्र घरहरु व्यवस्थित नहुदा दर्शक चलचित्र हेर्न नजाने गरेको बताइएको थियो ।
यस विषयमा विकास बोर्डका सदस्य एवं चलचित्र निर्माता उदय सुब्बाको संयोजकत्वमा गठन गरिएको चलचित्र घर अनुगमन समितिले पश्चिम नेपालगंजदेखि पूर्वमा मेची सम्मका चलचित्र घरहरुको आवश्यक पूर्वाधार, जनशक्ति, सञ्चालनको विधि लगायतका विषयमा अनुगमन गरेको छ । अनुगमनका क्रममा चलचित्र घरहरुमा सामान्य पूर्वाधार र आवश्यक कर्मचारीहरु समेत नराखेको पाइएको थियो । अनुगमनका क्रममा धरानको गणेश टाकिज र उर्लाबारीको भिलेज सिनेमा हल उत्कृष्ट ठहरिएको बताइएको छ । यी दुई हललाई विकास वोर्डले सम्मान गर्ने समेत बताइको छ । यी दुई हलले व्यवस्थित पूर्वाधार, आधुनिक प्रविधि, आवश्यक कर्मचारी एवं हलको सरसफाईमा विशेष ध्यान पुर्याएको बताइएको थियो
कार्यक्रममा पूर्वका हल सञ्चालकहरुले आ-आफ्ना समस्यहरु राखेका थिए । उनीहरुले पछिल्लो समयमा गणस्तरिय चलचित्र निर्माण हुन नसक्दा हलमा दर्शकको संख्या घट्दै गइरहेको र हल सञ्चालनमा समस्या हुदै गइरहेको बताएका थिए । उनीहरुले आधुनिक हल सञ्चालनका लागि चलचित्र विकास बोर्ड र राज्य पक्षबाट कुनै पहल नभए हाल सञ्चालनमा रहेका चलचित्र हलहरुपनि बन्द हुदै जाने जानकारी दिए । नेपाल चलचित्र संघका पूर्वाञ्चल सभापति राजकुमार लामाले आधुनिक हल निर्माण र सञ्चालनका लागि राज्यले लिदै आईरहेको कर पूर्ण छुट गर्नु पर्ने माग गरे ।
कार्यक्रममा विकास बोर्ड एवं अनुगमन समितिका सदस्य चेतन सापकोटा, चलचित्र वितरक बलराम पराजुली, निर्माता चिरन्जिबी बस्नेत, नीति निर्माता कुबेर शर्मा लगायतले आ-आफ्ना धारणा राख्नु राखेका थिए भने विकास बोर्डका सदस्य एवं अनुगमन समितिका संयोजक उदय सुब्बाले नेपाली चलचित्र उद्योगलाई सुधार्दै यसको बजार विस्तारका लागि अब चलचित्र निर्माता, हल सञ्चालक र चलचित्र वितरक बीच एकता र सहकार्य जरुरी रहेको बताए । सुब्बाले अहिले थोरै लगानीमा चलचित्र निर्माण गर्ने, यस क्षेत्र बाहेका मानिसले चलचित्र निर्माण गर्ने र हल सञ्चालकहरुले नेपाली भन्दा पनि हिन्दी चलचित्रहरुलाई प्राथमिकता दिने गरेकाले नेपाली चलचित्र उद्योग संकटमा पर्दै गइरहेको बताएका थिए ।