नियम अनुसार नचल्ने हलहरुलाई कारबाही मात्र नभएर खोजी गर्ने सम्मको अधिकार पाएको हल अनुगमन समिती यतिबेला देश दौडाहामा छ । यसै क्रममा समितीले पूर्वका हलहरुको अनुगमन सकाएर पश्चिम तर्फ लागेको छ । समिती सदस्य चेतन सापकोटले आज पूर्वका हलहरुको अनुगमन सकाएर टोली आज पश्चिम तर्फ लागेको जानकारी दिए । पश्चिमको यात्रा सकाएपछि समितीको पाइलाहरु सुदुर पश्चिम तिर लम्कने छन् ।
अनुगमनका क्रममा समितीले काठमाण्डौका केही हलहरुले कर छलेको भेटाएको थियो । समितीले उक्त हलहरुलाई आर्थिक अपराध गरेको बताउदै कारबाही गर्ने भने पनि कारबाही गर्न सकेन । त्यस लगत्तै बौद्ध र कमलबिनायक हललाई चेताबनी दिएको समितीले पोखराको कल्पना हल भन्ने बन्द गराई छाड्यो । समितीले पूर्वमा अनुगमन गर्ने क्रममा जीतपुरको शिव पार्वती र जय लक्ष्मी हल तथा बिरगञ्जको सत्या हलललाई कर नतिरेको भन्दै १५ दिने अल्टीमेटम दिएको छ भने जनकपुरको हनुमान टाकीजमा पोर्न फिल्म प्रदर्शन गरेको भन्दै हल बन्द गराएको छ ।
बिभिन्न स्थानमा हलहरुको छड्के अनुगमन गर्दै कहिं अल्टीमेटम त कहिं बन्दको आदेश दिएको समितीले अनुगमनका क्रममा धरानको गणेश टाकिज र उर्लाबारीको भिलेज सिनेमा हल उत्कृष्ट ठहरिएको बताउँदै ति हलका सञ्चालकलाई सम्मान समेत गर्यो । पूर्वका हलहरू मर्यादित ढंगबाट चलिरहेको थाहा पाउँदा टोली निकै खुसी समेत भएको छ । यसरी नै देशका सबै हलहरू चल्ने हो भने चलचित्रको विकासमा सहयोग पुग्ने अनुगमन समिती सदस्य सापकोटाले बताए ।
केही दिन अघिमात्र हल भित्र यौन क्रियाकलाप हुने गरेको समाचार पनि बाहीर आएको थियो । यो अवस्थामा हल अनुगमन समितीको सक्रियताले यस्ता घटना निरुत्साहित हुनेमा आशा गर्न सकिन्छ । त्यसको अलावा हलले कर छले नछलेको, नबिकरण भए नभएको बारे पनि खुलासा हुनेछ । तर हल अनुगमन समितीले अहिले सम्म हलले प्रदान गर्नु पर्ने न्यूनतम सुबिधा प्रदान गरे नगरेको बारे भने केही बोलेको छैन । कतिपय हलहरुमा पार्किङ, बस्ने सिट, साउन्ड सिस्टम, बाथरुम लगायतको समस्या छ । हलले दिनु पर्ने न्यूनतम सुबिधा नदिएको खण्डमा अनुगमन समितीले कस्तो कारबाही गर्ला त्यो हेर्न बाँकी नै छ ।