केही समय अगाडी होम प्रोडक्सन बाहेकका अन्य चलचित्रहरुमा अभिनय नगर्ने बताएका नायक भुवन केसीले चलचित्रबाट सन्यास लिन सक्ने संकेत गरेका छन् । सन्यासको घोषणा नगरे पनि केसीले सन्यास लिने सम्भावना ९९.९ प्रतिशत रहेको जनाएका छन् ।
भुवनले अभिनय वा चलचित्र निर्माण गर्न नसक्ने भएर सन्यास लिन लागेका भने होइनन् रे ! नेपाली चलचित्र क्षेत्रमा रहेको बिद्यमान अवस्थाबाट आजित भएर यस्तो सोच बनाएको केसीले जनाएका छन् । कलाकारलाई राष्ट्रको गहना भनिए पनि त्यो गहनाको महत्व राष्ट्रले बुझ्न नसकेको केसीको भनाई छ । यहाँ न त सिनियरहरुको सम्मान हुने न त काम गर्ने वातावरण नै बन्ने गरेको भुवनको भनाई रहेको छ । राम्रा चलचित्रकर्मी यो क्षेत्रबाट पलायन हुनुको एउटै कारण उनिहरुलाई त्यस पछिको पुस्ताले सम्मान गर्न नसक्नु भएको भुवनले बताए ।
राम्रा अनि सिनियर ब्यक्तिलाई यहि क्षेत्रका ब्यक्तिले सम्मान गर्नु पर्ने धारणा राख्ने केसीले प्रहरी प्रशासनको उदाहरण दिंदै त्यहाँ पद बढुवा हुँदै जाने र सिनियरको सम्मान हुने कुरा ब्यक्त गरेका छन् । उनले प्रहरीमा डिआइजिलाई त्यहाँका जुनियर प्रहरी अफिसरले नै सम्मान गर्ने बताउदै चलचित्रमा यस्तो परिपाटी बस्न नसक्दा आफुलाई प|mस्टेसन भएको उल्लेख गरे । आफुले नेपाली चलचित्रको बजार खस्केको बेलामा पनि राम्रो चलचित्र बनाएर राम्रा चलचित्र बनाएमा दर्शकले मन पराउछन् भन्ने कुराको पुष्टि गरेका नायक केसीले पछिल्लो समय आफ्नो कामको सम्मान हुन नसकेको गुनासो ब्यक्त गरेका छन् ।
जस्ता चलचित्रलाई पनि एउटै टोकरीमा राख्दा आफुले राम्रो चलचित्र बनाउनुले खासै महत्व नराखेका कारण चलचित्र बनाउनुको औचित्य नदेखेको उनले बताएका छन् । यो क्षेत्रमा टेवा पुर्याउने गरी आफुले चलचित्र निर्माण गरेको बताउने केसीले चलचित्र क्षेत्रका ब्यक्तिले यो कुरा नबुझेका कारण अन्य व्यवसायमा लाग्ने सोच बनाएको उल्लेख गरेका छन् । ब्यापार नै गर्ने हो भने प्रतिफल सुनिश्चीत भएको ब्यवसाय अंगाल्ने केसीको भनाई रहेको छ ।
पहिला पहिला कलाकारको सम्मानमा गोरखा दक्षिण बाहु जस्ता पदकहरु रहे पनि अहिले त्यो परिपाटी समेत सो परिपाटी हराउँदै गएको उनले बताए । आफ्नो छोरा अनमोलको पनि चलचित्रमा आउने इच्छा रहेका कारण अर्को चलचित्रको निर्माण गर्ने सोच बनाए पनि पछिल्लो चरणमा चलचित्र निर्माण गर्ने सोच हराएको केसीको भनाई छ । आफ्नो लागी अभिनय र निर्माणका दृष्टिले चलचित्र 'साथी म तिम्रो' नै अन्तिम हुन सक्ने केसीले बताए ।
पछिल्लो समय निर्माणमा बाढी नै आए पनि स्तरिय चलचित्र निर्माण गर्ने निर्माताहरु भने कमै छन् । यो अवस्थामा स्तरिय चलचित्र निर्माण गरेर चलचित्र क्षेत्रमा सफल निर्माताको रुपमा चिनिएका केसीले चलचित्र क्षेत्रबाट सन्यास लिन लागेको समाचार पक्कै पनि सुखद हैन । यसकारण एउटा राम्रो कलाकार तथा निर्माता केसीले सन्यासको औपचारीक घोषणा नगरुन् हाम्रो कामना !