तोरी बारिमा हिरो हिरोईनलाई ननचाउने प्रतिबद्वता लिएका निर्देशक नारायण पुरीले एक फरक कथामा चलचित्र निर्देशन गर्ने भएका छन् । अमेरिकाको जनजीवनलाई लिएर उनले निर्देशन गर्न लागेको चलचित्र हो 'A For America' । बिहिबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी निर्देशक पुरीले सो चलचित्र बनाउन लागेको घोषणा गरेका हुन् ।
दुई बर्षको बिश्राम पछि निर्देशक पुरीले निर्देशन गर्ने भनिएको सो चलचित्रले अमेरिका प्रतिको नेपालीको मोह र त्यहाँ पुगेपछि पाउने समस्यालाई पर्दा मार्फत प्रस्तुत गर्न लागिएको हो । अझ बिशेष गरी चलचित्र नेपाली कलाकारहरू बिदेशिएको र त्यहाँ उनीहरूले भोगेको समस्यालाई प्रस्तुत गर्न खोजिएको निर्देशक पुरीले बताए । अमेरिका जाने नेपालीको मोहलाई यथार्थ ढंगले प्रस्तुत गर्न लागिएको सो चलचित्रलाई अमेरिका बस्दै आएका एनआरएन हिक्मत मियाँले निर्माण गर्दैछन् ।
चलचित्रमा रेखा थापा, राजबल्लभ कोईराला, केकी अधिकारी, सन्तोष पन्त, गायक भरत सिटौलाले अभिनय गर्दैछन् । यसैगरी चलचित्रमा अमेरिकामा रहेका अभिनेता सरोज खनाल र अभिनेत्री सारंगा श्रेष्ठले पनि बिशेष भुमिका निर्वाह गर्ने भएका छन् । चलचित्रमा अभिनेता सरोज र अभिनेत्री सारंगाको अमेरिकाको यथार्थ घटनालाई प्रस्तुत गर्ने निर्देशक पुरीले बताए ।
नायक राजबल्लभ कोईराला, नायिका केकी अधिकारी, कलाकार सन्तोष पन्त, निर्माता हिक्मत मियाँ र निर्देशक पुरी सहितको टोली अमेरिका छायाँकनका लागि जाने भएको छ । सेप्टेम्बर १३ तारिख अमेरिका प्रस्थान गरेर सुटिङ त्यहिंबाट शुरू गर्ने निर्देशक पुरीको भनाई छ । निर्माण टोली अमेरिकामा करिब १० दिन बस्ने बताईएको छ । चलचित्रमा गीतसंगीत प्रयोग नगरिने भएको छ ।