२०६७ सालमा नेपाली चलचित्रले प्रदर्शनको रेकर्ड राख्यो । करिब ७ दर्जन चलचित्र प्रदर्शनमा आए तर आधा दर्जन चलचित्रले पनि लगानी उठाउन सकेनन् । ती सबै चलचित्रका निर्माता मध्ये आधा दर्जन निर्माता पनि नयाँ चलचित्र बनाउने सोच बनाएनन् । धेरै निर्माता निर्देशक निराश भएका छन् र केहिले त यो उद्योग नै धरापमा परिसकेको बताएका छन् । के नेपाली चलचित्र साँच्चै नै खतरामा छ ? यो बहसको बिषय बनेको छ ।
रजत जयन्ति मनाउन सफल पहिलो नेपाली चलचित्र कुसुमे रुमाल पछि नेपाली चलचित्र बन्ने क्रम तिब्र भयो । पचासको दशकमा आएर नेपाली चलचित्रले एउटा उद्योगकै रुप लियो । सो समयमा धेरै नेपाली चलचित्रले राम्रो ब्यापार पनि गरेका थिए । तर सो समयमा सफल भएर जमेका कलाकारहरु पनि हाल आएर चलचित्र क्षेत्रमा लागेर आफ्नो र परिवारको गुजारा चलाउन नसक्ने भएपछि बैकल्पिक पेशा अपनाउन बाध्य भएका छन् । कुनै बेला लगातार चलचित्र बनाउने निर्माताहरू अहिले यस क्षेत्रमा भन्दा बढि राजनितीमा सक्रिय देखिएका छन् ।
नेपाली चलचित्र क्षेत्रमा आधुनिक प्रबिधि नभित्रनुका साथै पुरानै ढर्रा र फर्म्याटमा चलचित्र बन्नुले पनि चलचित्रको ब्यापार हुन सकेको छैन । राजेश कराएको करायै भए, निखिल उफ्रिएको उफ्रियै अनि बिराज पनि मुक्का र लात्ति मातै देखाई रहे र पनि यिनीहरुको टाउको मात्र चलचित्रमा राखेपछि चलचित्र चलिहाल्छ भन्ने मानसिकताले अझै पनि निर्माताहरुलाई छाडेको छैन । तर पछिल्लो समयमा राजेश हमाल, निखिल उप्रेती र विराज भट्टले खेलेका चलचित्रले पनि निर्माताहरुलाई निरास पारीसकेका छन् ।
हलिउडको चलचित्र अवतार हेर्ने नेपाली दर्शकहरुले पनि नेपाली चलचित्र हेर्न खोज्छन् भन्ने सोच नै नेपाली निर्माताहरुलाई आएन । पछिल्लो समयमा बनेका केहि चलचित्रले भने प्रबिधि र नयाँ सोच लागु गरेको पाईएको छ तर ति मात्र पर्याप्त छैनन् । नाम चलेका र नेपाली चलचित्रको मियो हाम्रो हातमा छ भनेर गफ गर्ने निर्माताहरुले चलचित्र उद्योगको यो निराशाजनक समयमा खाली चलचित्रको राजनिति मात्र गरेको देखिएको छ । नेपाली चलचित्रको बजार बिस्तारको लागि केहि पनि काम गरेको देखिएन ।
अबका दिनमा कलाकारका कारणले मात्रै चलचित्र चल्दैन राम्रो मेकिङ पनि चाहिन्छ । अहिलेको डिजिटल प्रबिधिमा एकै पटक ५ दर्जन हलमा चलचित्र लगाएर ७ दिनमै लगानि उठाउन सक्ने अवस्था छ । यसर्थ चुनौतीहरु मात्र हैन यहाँ सम्भावना पनि उत्तिकै छन् । त्यसैले निरास बनेर भन्दा पनि सिर्जनात्मक बनेर आफ्नो मौलिक पनलाई आधुनिक तरिकाले चलचित्रमा उतार्न सकियो भने नेपाली चलचित्रले पनि अर्न्तराष्ट्रिय बजार नपाउला भन्न सकिंदैन । तर यस उद्योगलाई अघि बढाउने भन्दा पनि रहरले निर्माता तथा निर्देशक बन्ने र २-४ वटा हिन्दी चलचित्रको सिनलाई चोरेर नेपाली चलचित्र बनाउने चलचित्रकर्मिहरुको जमात रहेसम्म नेपाली चलचित्रले उन्नती गर्न सक्दैन ।