अहिलेका चल्तापुर्जा नायकद्वय राजेश हमाल र आर्यन सिक्देलले एकसाथ अभिनय गरेको चलचित्र 'सपना' आज शुक्रबारबाट देशभरका हलहरूमा प्रदर्शन भईरहेको छ । सार्वजनिक प्रदर्शनसँगै आज केही चलचित्रकर्मी र पत्रकारहरूलाई पनि सो चलचित्र देखाईयो ।
राजधानीको जमल स्थित बिश्वज्योती हलमा बिहान करिब साढे ११ बजे प्रदर्शन गरिएको सो चलचित्र हेर्न केही सञ्चारकर्मीको साथमा चलचित्रका मुख्य नायक आर्यन सिक्देल र शिर्ष भुमिकामा रहेकी नायिका नन्दिता केसी उपस्थित थिए । उनीहरूले पूरै चलचित्र मात्र हेरेनन् कि दर्शक तथा उपस्थित चलचित्रकर्मी र सञ्चारकर्मीको प्रतिक्रिया पनि लिए । चलचित्रका अर्का मुख्य नायकद्वय राजेश हमाल र अर्जुन कार्की भने उपस्थित भएनन् ।
यसैगरी चलचित्र सपना हेर्न बिकास बोर्डका अध्यक्ष गणेश भण्डारी, उनकी जीवनसंघिनी, निर्देशक प्रदिप श्रेष्ठ, निर्माताद्वय बसन्त कुमार श्रेष्ठ र हरि बराल, संगीतकार चेतन सापकोटा र महेश खड्का, नायिकाद्वय नीता ढुंगाना र स्नेहा शर्मा, अर्का निर्देशक ज्ञाजेन्द्र देउजा लगायतका थुप्रै चलचित्रकर्मी आएका थिए । यसैगरी निर्देशक आलोक नेम्वाङले पनि आजै सो चलचित्र हेरे । उनले भने दर्शकहरूको माझमा बसेर २ बजेको शो हेरे ।
प्रदिप श्रेष्ठको निर्देशनमा बनेको चलचित्र सपनामा राजेश हमाल, आर्यन सिग्देल, नन्दिता केसी, अर्जुन कार्की, सुनिलदत्त पाण्डे, मिथिला शर्मा लगायतले अभिनय गरेका छन् । हरि बरालको समेत लगानी रहेको सो चलचित्र प्रेमकथाको साथमा एक्सन प्रधान रहेको छ । चलचित्रमा कथा, पटकथा र संवाद मौनता श्रेष्ठ, गीत कृष्णहरि बराल र दयाराम पाण्डे, संगीत महेश खड्का, द्वुन्द्व हिमाल केसीको रहेको छ । चलचित्र सपनालाई सपना नाम भएका महिलाहरूले परिचय पत्र देखाएका एक साता भित्र निशुल्क हेर्न पाउने छन् ।