सूचना तथा सञ्चारमन्त्री पोष्टबहादुर बोगटीले बोर्ड स्वायत्ततादेखि चलचित्र ऐनको अध्ययन अन्तिम चरणमा पुगेको जानकारी दिँदै छिट्टै त्यसलाई आफू मातहत मन्त्रालयले पारित गरी कानुन मन्त्रालयमा पठाउने बताए । 'नीतिगत निर्णय हामीले गरौंला तर समस्याको समाधान गर्ने त आखिर उद्योगका बारेमा जानकार तपाई फिल्मकर्मीहरू नै हो' मन्त्री बोगटीले जोड दिए ।
शनिबार चलचित्र निर्माता संघको ११ औं साधारण सभामा मन्त्री बोगटीले विकास बोर्डले पठाएको चलचित्र ऐनको काम अन्तिम चरणमा पुगेको बताउँदै चलचित्र नगरीको अवधारणाको लागि पहल गर्दै छलफल कार्य जारी रहेको बताए । साथै उनले नेपाली चलचित्र क्षेत्रलाई एउटा सुन्दर बगैंचाको उदाहरण दिंदै सुन्दर बगैंचामा रहेका बिषालु झारपातलाई निकालेर फालेमा यस क्षेत्रको बिकास हुने बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले बोर्डको स्थापनाकाल देखि नै स्वायत्तताको माग गरे पनि त्यो वीरबलको खिचडी मात्रै भएको दुःखेसो पोखे । उनले सञ्चार मन्त्रीलाई चेतावनी दिदै भने, 'अब पनि सुनुवाइ हुँदैन भने राँको कहाँ झोस्नु पर्छ हामी सचेत छौं ।' चलचित्रको अर्न्तराष्ट्रिय बजारीकरणका आवश्यक रहेको बताउदै यसै वर्ष भित्रमा गैरआवासिय नेपालीहरूको सम्मेलनमा त्यसबारे ठोस एजेन्डा लाने भण्डारीले बताए ।
भण्डारीले घाउ लागेर क्यान्सर नै बन्न लागेको चलचित्रको बर्गीकरणलाई मुख्य बिषय बनाएको भए पनि केहि व्यक्तिहरूले तगारो हालेर सो कार्यलाई अगाडी बढाउन नदिएको दु:खेसो पोखे । साथै उनले चलचित्रकर्मीहरूले जोखिम उठाउन नसक्ने हो भने भित्तामा झुण्ड्याईएको पेण्डुलम जस्तै भईने बताए । पाईरेसीको मुद्दालाई उठाएको बताउंदै भन्डारीले यसको रोकथामका लागि बिशेष पहल समेत गर्ने बताए ।
नेपाली चलचित्रकर्मीहरुको अहमपनाले गर्दा नेपाली चलचित्रले क्षेत्रले फड्को मार्न नसकेको भन्दै निर्माता संघका अध्यक्ष राजकुमार राईले आत्म आलोचना गरेका छन् । अर्काको कुरा काट्ने बानि राम्रो नभएको भन्दै चलचित्रकर्मीहरू एक जुट नभएसम्म नेपाली चलचित्र क्षेत्र कहिलै उभों नलाग्ने बताए । संघको ११ औं साधारण सभालाई एकताको अधिबेशनको संज्ञा दिदै अध्यक्ष राईले नेपाली चलचित्र क्षेत्रको निर्माण, वितरण, प्रदर्शन लगायतका थुप्रै समस्या रहेकोले सो समस्याको समाधान खोजिनु पर्ने बताए । सो समस्याको समाधानलाई लागी सबै चलचित्रकर्मीलाई एकजुट हुन उनले आग्रह समेत गरे ।
नेपाली चलचित्र समयानुकुल परिवर्तन हुन नसक्दा यस क्षेत्रले फड्को मार्न नसकिरहेको बताए । उनले चलचित्रकर्मीहरूले आफ्ना समस्यालाई मनन गर्दै नेपाली चलचित्रलाई समय अनुसार परिवर्तन गर्नु पर्ने बताए । थापाले संवैधानिक समिति सदस्य भएको नाताले आफू फिल्मकर्मीसँग छलफल गरी त्यस सम्बन्धी एकीकृत नीति तयार पार्न इच्छुक रहेको बताए । पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले पत्रकारको भित्र छिर्न खोजेको बाघ चलचित्र भित्र पनि छिर्न सक्ने भएकाले सबै चलचित्रकर्मीलाई सचेत हुन आग्रह गरे । उनले पत्रकारहरूलाई बखान गर्न मात्र हैन आलोचक हुन समेत आग्रह गरे ।
निर्माता संघका पूर्व अध्यक्ष तथा तथा उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अशोक शर्माले चलचित्र निर्माणपक्ष, प्रदर्शक र वितरकले आ-आफ्नो ठाउँमा राम्रो गर्ने प्रयास नगर्दा सम्म समस्या समाधान नहुने दाबी गरे ।कार्यक्रममा विज्ञापन व्यवसायी संघका अध्यक्ष राज कुमार भट्टराई, युवानेता योगेश भट्टराई, निर्माता, निर्देशक तथा नायक आकाश अधिकारी लगायतले चलचित्र क्षेत्र भित्र रहेका समस्याको बारेमा बोल्दै त्यसको समाधानको खोजी गरिनु पर्ने बताएका थिए । कार्यक्रममा संघका महासचिब केशब भट्टर्राईले संघको अवधारण प्रस्तुत गरेका थिए भने सचिब सुरेश दर्पण पोखरेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।
संघले सदाका बर्षमा झैं यस बर्ष पनि आफ्नो बार्षिकोत्सवका अवसरमा केहि चलचित्रकर्मीलाई सम्मान गर्यो । निर्माता विनोद शेरचन 'नेपाल चलचित्र निर्माता संघ सम्मान'बाट सम्मानित भए भने ‘स्व. प्रकाश थापा स्मृति पुरस्कार' बाट चलचित्र कहाँ भेटिएलाका निर्देशक शिव रेग्मी र सो चलचित्रको निर्माण संस्था नेपा: मुभिज सम्मानित भए । यसैगरी गत बर्षको सफल चलचित्र मध्येको एक चलचित्र 'नाइ नभन्नु ल' का निर्माता रमेशजंग रायमाझी 'नव निर्माता प्रोत्साहन पुरस्कार' बाट सम्मानित भए । निर्माता संघ प्रर्दशन पुरस्कार काठमाण्डौको वालाजुमा रहेको अष्टनारायण हललाई प्रदान गरियो ।
निर्माता संघले विशेष कदर सम्मान लक्जेम्वर्समा वसेर पनि नेपाली चलचित्र निर्माण गर्दै आएका निर्माता रमेश त्वयनालाई प्रदान गर्यो । त्यसैगरी संघले चलचित्र विकास बोर्डका सदस्य मौसमी मल्ल, उदय सुब्बा र विजय बस्नेतलाई पनि कदर पत्रले सम्मान गर्यो । संघले बार्षिक कार्यक्रम र योजनाका लागि शनिबार नै दोस्रो खण्डमा बन्द सत्र गर्यो ।