आज भगवान श्रीकृष्णको जन्म दिन । सबैले भगवान कृष्णको पुजा गरिरहँदा नायिका सञ्चिताले भने छोरालाई जन्म दिएकी छिन् । नायक निखिल उप्रेतीसँग दोस्रो बिबाह गरेकी सञ्चिताले आज राति करिब साढे दश बजे तिर छोरालाइ जन्म दिएकी हुन् ।
काठमाण्डौको नर्भिक अस्पतालमा शल्यक्रिया गरेर उनको कोखबाट बच्चा निकालिएको हो । स्वास्थ्यमा केहि समस्या आए पछि नायिका सञ्चितालाई आईतवार मध्यान्न तिर अस्पताल पुर्याईएको थियो । नर्भिक अस्पतालकी प्रसुति विशेषज्ञ डा. ज्योति अग्रवालले सञ्चितालाई भाद्र ४ गतेको डेट दिएकी थिईन् । डाक्टरले दिएको डेटमै नायिका सञ्चिताले छोरालाई जन्म दिएकी हुन् ।
डक्टरले दिएको समय अनुसार उनको शल्यक्रिया राति करिब नौ बजे तिर शुरू गरिएको सञ्चिताको पारिवारिक स्रोतले जनायो । सकुशल शल्यक्रिया गरेर बच्चा निकालिएको भन्दै सञ्चिताको परिवारले बच्चा र आमा दुबैको स्वास्थ्य राम्रो भएको बताएको छ । अहिले अस्पतालमा सञ्चिताका परिवारहरू मात्र रहेको बुझिएको छ ।
सञ्चिताका श्रीमान नायक निखिल उप्रेती पनि हिजो साँझ उनलाई भेट्न काठमाण्डौ आएका थिए । नायक निखिलको पहिलो श्रीमती कोपिला उप्रेतीको कोखबाट पनि छोराकै जन्म भएको थियो । कोपिलाले एक बर्ष अघि मात्र छोरालाई जन्म दिएकी थिइन् ।