चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रका लागी प्रस्ताब गर्न लागेको ऐनमा उल्लेख गरिएको चलचित्र प्रदर्शन सम्बन्धि प्रस्ताबमा केहि परिवर्तन गरेको छ । बोर्डले प्रत्येक हलले कुल प्रदर्शन समयको ३३ प्रतिशत नेपाली चलचित्र अनिवार्य रुपमा चलाउनु पर्ने भनि गरेको प्रस्तावमा केही भाषा परिवर्तन गरेको छ ।
बोर्डले प्रस्ताब गरे लगत्तै प्रदर्शकहरुको चर्को आलोचना खेप्नु परेका कारण तत्काल सहमति जुट्न सकेको थिएन । बोर्डको प्रस्ताव माथी चलचित्र प्रदर्शकहरुले आपत्ति जनाए पनि निर्माताहरुले भने पूर्ण समर्थन गरेका थिए । तर बोर्डले सबै पक्षको सहमतिमा प्रस्ताव पारित गर्ने भन्दै केही भाषा परिवर्तन गरेर प्रस्तावलाई अगाडी बढाएको बोर्डका अध्यक्ष गणेश भण्डारीले बताएका छन् ।
भण्डारीले लठ्ठी पनि नभाँचिने र्सप पनि नमर्ने गरी प्रस्तावलाई सहमती जुटाएको जनाएका छन् । उनले यति नै प्रतिशत भनेर किटान नगरिए पनि नेपाली चलचित्रलाई पहिलो प्राथमिकतामा राख्ने सहमति भएको उल्लेख गरेका छन् । अब हरेक हलहरुले नेपाली चलचित्रलाई पहिलो प्राथमिकतामा राखि प्रदर्शन गर्नु पर्ने छ । प्रवत्ता बिजय बस्नेतका अनुसार अहिले ८० प्रतिशत हलहरुले नेपाली चलचित्रलाई प्राथमिकतामा राखेको भए पनि २० प्रतिशत हलहरुले बिदेशि चलचित्र मात्र चलाउने गरेको पाइएको छ । उनका अनुसार काठमाण्डौका केही मल्टिकम्प्लेक्स हलहरुले यस्तो गरिरहेका छन् ।
अध्यक्ष भण्डारीका अनुसार अब यो प्रस्ताब माथि निर्णय भएपछि हरेक हलहरुमा नेपाली चलचित्र प्राथमिकताका साथमा चलाउनु पर्नेछ । नेपाली चलचित्रको बजार बिस्तारको कुरा चलिरहदा यदि प्रस्ताबित यो कुरा निर्णय भएर लागु भएको खण्डमा सुबिधा सम्पन्न हलहरुमा समेत नेपाली चलचित्र हेर्न पाइने छ ।