नेपाली चलचित्र क्षेत्रमा मोटा व्यक्तिहरू कम छन् तर चर्चामा छन् । बिशेष गरी मोटा व्यक्तिहरूको सूचिमा कलाकार तथा निर्देशक निर शाह, खल अभिनेता बिजय देउजा, कलाकार सिपी पौडेल, निर्मल शर्मा, आर पि भट्टराई, रवि शर्मा तथा पत्रकार शान्ति प्रिय पर्दछन् । यि मध्ये पत्रकार शान्ति प्रिय बिशेष एक कारणले गर्दा चर्चामा छन् ।
दुई दशक भन्दा धेरै समय पत्रकारितामा आफ्नो अमूल्य योगदान दिईसकेका शान्ति प्रिय मोटो हुनाले पनि चर्चामा आउन थप सहयोग पुर्याएको हाम्रो अनुमान छ । हुनत पत्रकारितामा नै यिनको नाम पर्याप्त छ तर पनि मोटो पनाले चर्चामा आउन थप मद्दत पुर्याएको कुरालाई नकार्न सकिंदैन । शान्ति प्रिय चर्चामा आउनुको कारण अरू केहि नभएर नरिवलसँगको सम्बन्ध हो ।
पत्रकारितामा लागे देखि अहिले सम्म उनले १०० भन्दा बढि चलचित्रको मुहुर्तमा नरिवल फोड्ने काम गरिसकेका छन् । अझ रमाईलो कुरा त यो छ कि गत बर्ष उनले एकै दिन ४ चलचित्रको मुहुर्त कार्यक्रममा नरिवल फोडेका थिए भने दुई चलचित्रको मुहुर्त सटको निर्देशन गरेका थिए । १०० भन्दा बढि नरिवल फोडेको अनुभव साट्दै प्रियले भने अहिलेसम्म नरिवल नफुटेको रेकर्ड छैन । बरू एक पटक भने व्यालेन्स नमिल्दा नरिवलको खोस्टाले आफ्नो हात काटेको नमिठो घटना उनले सुनाए ।
चलचित्र पत्रकार संघको अध्यक्ष पदमा रहेका बेला प्रियले धेरै चलचित्रको मुहुर्तमा नरिवल फुटाएको बताए । अहिले पनि उनलाई निवर्तमान अध्यक्ष भन्दै नरिवल फुटाउन आग्रह गर्छन् । नरिवललाई फुटाएर शुभ साईत हुने बिश्वास गर्ने चलचित्रकर्मीहरूले उनलाई नरिवल फुटाउन दिनुको कारण अरू केहि नभएर उनको ज्यान नै हो । झट्ट हेर्दा खाईलाग्दो ज्यान देखेर नै उनलाई नरिवल फुटाउन चलचित्रकर्मीहरूले आग्रह गर्दछन् । शान्ति प्रिय पनि झन्झट नमानी चलचित्रकर्मीको आग्रहलाई स्विकार्दै नरिवल फुटाउने गर्दछन् ।
नरिवल फुटाउँदा रमाईलो नै लाग्ने शान्ति प्रियको भनाई छ । उनी भन्छन्, 'अरूलाई गर्हो अफ्ठ्यारो लाग्ला तर मलाई त्यस्तो लाग्दैन । उहाँले सम्मान गरेर आग्रह गरे जस्तो लाग्छ त्यसैले खुसी साथ आफ्नो काम पूरा गर्छु ।' जे होस् मोटो हुनु र पेट ठूलो हुँदाको फाईदा शान्ति प्रियले मज्जले नै उठाएका छन् । बधाई छ नरिवल दाई !