चलचित्र निर्देशक समाजले भाद्र १७ गते आठौं बार्षिक साधारण सभा गर्ने भएको छ । लामो समय देखि हुन नसकेको बार्षिक कार्यक्रम अब भने हुने करिब पक्का पक्कि नै भएको समाजका अध्यक्ष केपी पाठकले फिल्मीखबरलाई बताए ।
करिब दुई बर्ष अघि भएको समाजको चुनावमा पाठक अध्यक्ष पदमा बिजयी भएपछि बार्षिक कार्यक्रम अहिले सम्म हुन सकेको छैन । हरेक बर्ष गर्नु पर्ने काम बिबिध कारणले गर्दा हुन नसकेको भन्दै अध्यक्ष पाठकले अब भने गरेरै छाड्ने बताए । चलचित्र विकास बोर्डको सभा हलमा एक बिशेष कार्यक्रमका बिच साधारण सभा गर्ने पाठकको भनाई छ ।
गत कार्तिक या मंसिर महिनामा नै गर्नु पर्ने बार्षिक साधारण सभा बिबिध कारणले केहि महिना पछि सर्यो । माघ महिना तिर कार्यक्रम सारेको समाजले सो समयमा अर्न्तराष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरेको हुनाले हुन पाएन । त्यसपछि समाजका अध्यक्ष पाठक मोटरसाईकल दुर्घटनामा परे र पुन: कार्यक्रम अवरूद्व भयो । पाठक आफ्नो स्वास्थ्यमा सुधार आए पछि करिब एक महिनाका लागि युरोप भ्रमणमा गए र कार्यक्रम हुन सकेन ।अहिले पनि समाजका सदस्यहरू व्यस्त भईरहेकाले सो कार्यक्रम अस्तव्यस्त भईरहेको छ । तर पनि पाठक अब भने जसरी पनि गर्ने बताउँछन् ।
अब भने बार्षिक साधारण सभा जसरी पनि गर्ने बताउँदै पाठकले कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने, आगामी कार्ययोजनाका बारेमा बिषयमा छलफल गर्ने, कार्यपत्र प्रस्तुत गर्ने लगायतका बिषय रहने बताए । कार्यक्रममा चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्ति तथा पत्रकारहरूलाई निमन्त्रणा गरिने पाठकको भनाई छ ।