चलचित्रको बारेमा समाचार लेख्ने चलचित्र पत्रकारहरु पनि बिस्तारै बिस्तारै चलचित्र क्षेत्रमा प्रबेश गरिरहेका छन् । कोही निर्देशक, कोही निर्माता, कोही गीतकार, कोही संगीतकार त कोही कलाकार भएर चलचित्रमा प्रबेश गरेका छन् ।
बिबिसी नेपाली सेवामा काम गरेर सञ्चारकर्मीको परिचय बनाएका यादब खरेल चलचित्र निर्देशक तथा गीतकारको परिचय बनाएका सञ्चारकर्मी हुन् । उनलाई अहिले सञ्चारकर्मी भन्दा पनि चलचित्रकर्मी मान्नेहरु धेरै छन् । बिगत केही वर्षदेखि स्टेज कार्यक्रममा एक छत्र राज गरिरहेका दिनेश डिसि सञ्चारकर्मी, कलाकार, निर्देशक र गायक पनि हुन् । उनलाई धेरैले धेरै उपमाले सम्बोधन समेत गर्ने गर्दछन् ।
नायिका कृति भट्टर्राई पनि इमेज एफएमकी उद्घोषिका हुन् । नायक राजबल्लभ कोइराला पोखरा एफएम पोखरामा कार्यरत थिए कुनै समय । यता नायक जीवन लुईटेलले पनि टेलिभिजनमा काम गरिसकेका छन् । त्यसो त अहिले टिटिभिमा कार्यरत श्याम अर्याल पनि साना तिना भुमिकामा चलचित्रमा देखि नै रहन्छन् । यस्तै टिटिभी र इमेअज एफएमका कार्यरत नरेश भट्टराई गीतकार मात्र हैनन् एक चलचित्रका नायक पनि हुन् ।
सञ्चारकर्मीहरु निर्माता पनि बनेका छन् । सञ्चारकर्मी बिनोद अर्यालले चलचित्र 'माया त माया' हो बनाएर निर्माणमा हात हाले । यस्तै हाल रेडियो अडियोमा कार्यरत जयप्रकाश रिजालले पनि केही चलचित्रको निर्माण गरेर सञ्चारकर्मीसंगै निर्माताको पनि परिचय बनाए । निर्देशक सुमन दाहालले अहिले निर्माणमा समेत हात हालेका छन् । उनि पनि सञ्चारकर्मीबाट निर्देशक बनेका हुन् ।
निर्देशकको परिचय बोकेका सुरेश दर्पण पोखरेलको सञ्चार माध्यममा राम्रै अनुभव छ । चितवनको सिनर्जी एफएम हुँदै काठमाण्डौको नेपाल एफएम, कान्तिपुर टिभीको रजतपट, एनटिभीको पर्दा जस्ता कार्यक्रममा उनले आफ्नो कला प्रस्तुत गरेका छन् । चार वटा चलचित्रको निर्देशक बनिसकेका दर्पणको परिचय अहिले निर्देशकमा नै बढि झुकेको छ । रमाइलो त के भने यि चारै जना पत्रकारहरु बिनोद अर्याल, जयप्रकाश रिजाल, सुमन दाहाल र सुरेश दर्पण पोखरेल निर्माता संघको कार्यसमितीमा छन् । अझ सुरेश दर्पण पोखरेल र सुमन दहाल त निर्देशक समाजको कार्यसमितीमा समेत पुगेका ब्यक्ति हुन् ।
बरिष्ठ चलचित्र पत्रकार शान्ती प्रिय र नवराल लम्साल दुबै गीतकार हुन् । यि दुबैले चलचित्र पत्रकारितामा जस्तै गीतकारको रुपमा पनि आफ्नो परिचय उच्च पारिसकेका छन् । गीतकारकै कुरा गर्ने हो भने सञ्चारकर्मीहरु दयाराम पाण्डे, डब्बु क्षेत्री, उत्तम गौडेल लगायतका चलचित्र पत्रकारहरुले चलचित्रमा गीत लेख्ने गर्दछन् । सञ्चारकर्मी सन्दिप सापकोटा र सरोज केसी दुबै कलाकारितामा छन् भने नायिका सरिता लामिछाने पनि पहिला च्यानल नेपालमा उद्घोषिका थिइन् । यस्तै निर्देशक रमेश पोखरेल पनि सञ्चारकर्मी नै हुन् । सञ्चारकर्मी समन अधिकारी पनि पछिल्लो समय चलचित्रमा नै व्यस्त छन् । बिशेष गरी उनी करियोग्राफीमा व्यस्त देखिएका छन् ।
निर्देशक भुषण दाहाललाई निर्देशक भन्दा बढि सञ्चारकर्मीकै रूपमा हेर्ने गरिन्छ । अहिले त बिबिसीमा कार्यरत सञ्चारकर्मी रवीन्द्र मिश्र पनि चलचित्र हाईवेमा अभिनय गरेर चर्चामा आएका छन् । नायिका ऋचा घिमिरेको रंगमञ्च यात्रा एक फिल्मी कार्यक्रमको सञ्चालन गरेरै भएको हो । नायक आयुष रिजाल चलचित्र क्षेत्रमा प्रवेश गर्नु अघि क्यामेरा चलाउने र भिडियो सम्पादन गर्ने गर्दथे ।
नायिका रीमा बिश्वकर्माको पहिलो परिचय नै सञ्चारकर्मीको थियो । एक अनलाईनमा काम गरेकी रीमाले नेश्नल टेलिभिजनमा समाचार वाचिका भएर धेरै समय बिताईन् । अहिले उनी बढि चलचित्र र मोडलिङमा नै व्यस्त छिन् । यस्तै नवनायक यशराज गरच पनि सञ्चारकर्मीबाट नायक बनेका हुन् । कुरै गर्ने हो भने फिल्मीखबर डटकमका प्रधान सम्पादक सुमन गैरे पनि चलचित्रको पर्दामा बिस्तारै देखिने शुरमा छन् ।
यसरी हेर्दा सञ्चारकर्मीहरुको चलचित्रमा प्रबेश बाक्लो देखिन्छ । धेरै पत्रकारहरू चलचित्रमा प्रवेश गरिसकेका छन् भने कति प्रवेशका क्रममा छन् । बिशेष गरि चलचित्र र पत्रकार एक अर्कामा सम्बन्धित रहने हुँदा पनि हामी यसलाई स्वभाविक रुपमा लिन सक्दछौ । चलचित्र क्षेत्रमा जुन कुनै रुपमा प्रबेश गर्ने सबै पत्रकारहरुलाई फिल्मीखबर डटकमको तर्फबाट सफलताको शुभकामना !