नेपाली समाजमा भूत प्रेतलाई मान्नेहरू धेरै नै छन् । तर वास्तवमा भूत हुन्छ या हुँदैन त्यो भोग्नेलाई नै थाहा हुन्छ । यस्तै भूतको बारेमा एउटा रमाईलो घटना चलचित्र ब्रेक फेलको सुटिङका बेला भएछ ।
चितवनमा सुटिङ भएको बेलाको कुरा हो । युनिट सबै नारायणी नदीको किनारमा रहेको अंकल लजमा बसेको थियो । एक दिन चलचित्रका नव नायक चिरेनले भूत आयो र मलाई डराउन दियो भन्दै सबै युनिटको सत्तो लगे । धेरैले बिश्वास गरेनन् । तर बिश्वास गर्न बाध्य बनाई दियो जब अर्का नायक बिमलेश अधिकारी पनि भूतको प्रत्यक्षदर्शी भए । त्यसपछि त नायक बिमलेश पनि अत्तालिंदै चिच्याउन थाले ।
चिरेनले भन्दा त धेरैले पत्याएका थिएनन् तर जब बिमलेश पनि कराउन थाले त्यसपछि अर्का नायक निरज बरालको सात्तोपुत्लो गएछ । निरजको साथ साथै युनिटका धेरै व्यक्तिहरूलाई बिश्वास लाग्न थालेछ । निरज त बाथरूम पनि एक्लै जान नसकेर कसैको साहारा लिने गर्थे रे ! उनी र बिमलेश हात समातेर नै बाथरूम जाने गरेको युनिटको भनाई छ । एक्कासी भूतले कसरी तर्सायो त ? नायिका ऋचा घिमिरे भन्छिन्, 'यसको पनि रोचक प्रसङ्ग छ ।'
भएछ के भने, सुटिङ सकेर केहि कलाकारहरू हिन्दी चलचित्र रागिनी एमएमएस हेर्न गएका रहेछन् । भूतको बिषयमा बनेको सो चलचित्र हेरेपछि नायक चिरेनले युनिटका सबै व्यक्तिहरूलाई तर्साउने प्लान बनाएछन् । अनि उनलाई अर्का नायक बिमलेशले पनि साथ दिएछन् । यसरी दुई नायकले नै भूत आयो भनेर डराउन दिएपछि सबैलाई बिश्वास लागेछ । तर पछि नायिका ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेले बुझ्दै जाँदा चिरेन र बिमलेश नै भूत बनेर तर्साएका रहेछन् ।
यसरी नक्कली भूत बनेका चिरेन र बिमलेशले केहि समय त युनिटको सात्तो नै लगेछन् । सुटिङमा बेला नक्कली भूत बनेर सबैलाई तर्साएका यि कलाकारले भाद्र १६ गते चलचित्र सार्वजनिक भएपछि दर्शकलाई पनि तर्साउँछन् या हल भित्र तानिरहन्छन् । प्रतिक्षाको बिषय बनेको छ ।