नेपालको प्रमुख शहर मध्येको एक बुटवलमा सञ्चालित कालिका हलका सञ्चालक हरि दुवाको निधन भएको छ । गत शुक्रबार बुटवलमा मोटरसाईकल दुर्घटनामा परेका दुवाको काठमाण्डौको न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
नेपाल चलचित्र संघका पूर्व अध्यक्ष समेत रहेका ६७ बर्षिया दुवाको बिहान करिब सवा दुई बजे निधन भएको हो । अहिले दुवाको शबलाई महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिंदै छ । १० बजे तिर पोस्टमार्टम गरेर आर्यघाट लगिने चलचित्र संघका महासचिव प्रदिप उदयले जानकारी दिए ।
बुटवलमा आफ्नी श्रीमतीलाई मन्दिर छोडेर मोटरसाईकलबाट घर फर्कदै गर्ने क्रममा ट्रकले ठक्कर दिएपछि उनी गम्भिर घाईते भएका थिए । घाईते दुवालाई उत्तिनै खेर उपचारका लागि काठमाण्डौ ल्याईएको थियो । पोखराको बिन्ध्वाबासिनी हलका सञ्चालक उत्तम दुवाका कान्छा बुवा हरि दुवाका दुई छोरा र दुई छोरी छन् । कालिका हल २०४२ साल तिर स्थापना भएको हो ।
यस दुखद घडिमा फिल्मीखबर डटकम परिवार दुवाको आत्माको चिर शान्तिको लागि हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ । साथै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना समेत प्रकट गर्दछ ।