जबसम्म महिलाहरूलाई बस्तुको रूपबाट अलग राख्न सकिंदैन तबसम्म महिला हिंसा र लैंगिक बिभेदको अन्त्य हुन नसक्ने सुचना तथा सञ्चारमन्त्री पोष्ट बहादुर बोगटीले बताए । महिला हिंसा र लैंगिक बिभेद बिश्वकै समस्या रहेको बताउँदै मन्त्री बोगटीले महिलालाई बस्तुको रूपमा हेर्ने मानसिकतामा परिवर्तन ल्याएमा मात्र महिला हिंसा र लैंगिक बिभेदको अन्त्य हुने बताए ।
शनिबार चलचित्र विकास बोर्डको सभा हलमा अभिनेत्री मौसमी मल्लको संयोजकत्वमा महिला सशक्तिकरण समितीले आयोजना गरेको 'चलचित्र क्षेत्रमा महिला हिंसा र लैंगिक बिभेद' बिषयक अर्न्तक्रिया कार्यक्रममा मन्त्री बोगटीले महिला हिंसा र लैंगिक बिभेदलाई निर्मुल पार्न सरकारको तर्फबाट सक्दो पहल गर्ने समेत बताए । यस्तै महिला अधिकारकर्मी तथा सभासद सपना मल्ल प्रधानले असन्तुष्ट शक्ति संरचनामा महिलाहरू रहेकाले पनि आज नेपाली चलचित्रमा महिला हिंसा र लैंगिक बिभेदता मौलाउँदै गएको हो बताईन् । साथै उनले महिला हिंसा बढ्नुको मुख्य कारण महिलाकै मानसिकताको उपज भएको बताईन् ।
सभासद प्रधानले नायिका श्रीषा कार्कीको घटनालाई स्मरण गर्दै महिला कलाकारहरू माथि हुने गरेका अप्रिय घटनाहरू घट्दा न्याय दिन सक्ने संयन्त्र नभएकाले यस्ता घटनाका लागि न्याय दिन सक्ने संयन्त्रको स्थापना गर्न चलचित्रकर्मीहरूले सरकारलाई दबाब दिनुपर्ने बताईन् । साथै उनले चलचित्रले समाजको वकालत गर्ने र सन्देश प्रवाह गर्ने भएकाले चलचित्रमा पनि यस्ता कुराहरूलाई उठान गर्नुपर्ने बताईन् ।
खेलकुद मन्त्री अन्सारी घर्ति मगरले महिलाहरूलाई श्रीमानको चाकरी गर्न छाडेर आफ्नो अधिकारका लागि लड्न सुझाव दिईन् । यसै अर्की सभासद ईश्वरी न्यौपानेले चलचित्र बाहिरबाट हेर्दा जति सुन्दर छ त्यस भित्र काम गर्नेहरूको समस्या निकै डर लाग्दो भएको सुन्दा दु:ख लागेको बताईन् । उनले महिलाहरूमा नै आफ्ना समस्या सुन्न सक्ने क्षमता नरहेकाले महिला हिंसा र लैंगिक बिभेदको अन्त्य हुन गार्हो भएको बताईन् । महिला हिंसा र लैंगिक बिभेदको अन्त्य गर्न महिलाहरू नै अग्रसर हुनुपर्नेमा उनको जोड छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले चलचित्रमा पित्रीसत्ता हाबी रहेकाले पितृसत्ता हाबी नबनाउन निर्माता निर्देशकहरूलाई आग्रह गरे । साथै उनले पुरूष संरक्षकको पात्र र महिला दयाको पात्र बनाउने परम्परालाई त्याग्नु पर्ने बताए । चलचित्र निर्माता संघका अध्यक्ष राज कुमार राईले नेपाली चलचित्र हुने गरेका महिला हिंसा र लैंगिक बिभेदलाई निर्मुल पार्न संघले सक्दो पहल गर्ने प्रतिवद्वता व्यक्त गरे । महिलाहरूले आफ्ना समस्याहरूलाई व्यक्त गर्न नसकिरहेको अवस्था रहेकाले निर्देशक समाजका उपाध्यक्ष बिमल पौडेलले महिलाहरूलाई आफ्ना समस्याहरू खुलेर व्यक्त अग्रह गरे ।
बरिष्ठ अभिनेत्री बसुन्धरा भुषालले महिला चलचित्रकर्मीहरू बिचमा नै एकता नभएकाले महिला हिंसा र लैंगिक बिभेद मौलाएको बताईन् । नायिकाहरूले अभिनय बेच्ने हो शरिर बेच्ने हैन भन्दै अभिनेत्री भुषालले नायिकाहरूलाई अगाडी मात्र नभएर पछाडी पनि फर्केर हेर्न आग्रह गरिन् । यस्तै अर्की अभिनेत्री मौसमी मल्लले पनि महिलाहरू एकजुट भएमा महिला हिंसा र लैंगिक बिभेद हुने बताईन् । नायिका ऋचा घिमिरेले नायिका नायिका बिचको होडबाजीले गर्दा आज नायिकाहरूको अवस्था नाजुक बन्दै गएको बताईन्।
नेपाली महिलाहरूको उल्लासमय पर्व तीजको अवसर पारेर आयोजना गरिएको सो अर्न्तक्रिया कार्यक्रममा निकै कम महिला कलाकारहरूको उपस्थिती रहेको थियो । कार्यक्रममा चलचित्र क्षेत्रका अधिकांश महिला चलचित्रकर्मीहरूलाई निमन्त्रणा गरिएको भए पनि सहभागीता भने पुरूषको बढि थियो । यसरी महिलाको कार्यक्रममा महिलाको उपस्थिती नहुनुले पनि यस्ता समस्याहरू आएको कार्यक्रममा बताईएको थियो । हुन पनि हो, महिलाकै हक हितमा आयोजना गरिने यस्ता कार्यक्रममा महिलाकै सहभागिता कम हुने गरेको अवस्थामा महिला हिंसा र लैंगिक बिभेदको अन्त्य कसरी होला ?