हरितालिका तीजलाई नारीहरुको महान पर्वका रुपमा लिने गरिन्छ । परापूर्वकालमा पार्वतीले महादेव पति पाउँ भनि निराहार व्रत बसेका कारण उनको मनोकांक्षा पूरा भएको धार्मिक कथनमा बिश्वास गरी तीजमा हिन्दू नारीहरु व्रत बस्ने गर्दछन् । त्यति मात्र नभएर वर्ष भरी मनमा रहेका पीर व्यथाहरु गीतको माध्यमबाट व्यक्त गर्नका लागि दिदीबहिनी एकै ठाउँमा जम्मा भएर नाचगान गरी रमाइलो गर्ने चलन पनि छँदै छ । चुरा, पोते र रातो साडीमा सजिएर तीजको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रमहरुमा नारीहरुको उपस्थिति बाक्लै देखिन्छ । तीजमा बिवाहिताहरु पतिको दिर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन् भने अविवाहिताहरु शिव जस्तै पति पाउँ भनेर व्रत बस्ने मान्यता छ ।
यस बर्षको तीज सुरु हुन अझै केही दिन बाँकी रहेपनि बजारमा यसको रमझम भने सुरु भइसकेको छ । हुन त तीजका लागि तयार पारिएका गीतहरुको सुटिङका क्रममा केही महिना अगाडिबाट नै सुटिङ स्पटहरु तीजमय बनेका थिए । यो तीजमा नायिकाहरु पनि नाचगान गरी मनाउने सोचाइमा छन् भने कतिले त तीजका अवसरमा व्रत समेत बस्ने भएका छन् । कति नायिकाहरुले सुटिङका कारण राम्रोसँग तीज मनाउन नपाउने भएका छन् । त्यसो त कति नायिकाहरुले यो तीजलाई बिदेशका कार्यक्रमहरुमा सामेल भई मनाउने भएका छन् ।
नायिका रेखा थापा पनि यस बर्षको तीजलाई अन्य बर्षमा जस्तै धुमधामका साथ मनाउने तयारीमा छिन् । हुनत केहि दिन देखि नै तीजका कार्यक्रमहरूमा सहभागी भएर नाचगान गरिरहेको रेखाले बताईन् । अहिले हल्का बिरामी भएका कारण दर राम्रोसँग खान नपाएकी रेखा स्वास्थ ठिक भएमा दिदीको घर गएर तीज मनाउने बताईन् । दिनभरको सुटिङ र ज्वरो आएका कारण अहिले भने उनी त्यति फ्रेस देखिन्नन् तर पनि तीज रमाईलोसँग नै मनाउन चाहन्छिन् । गर्भवती भएका कारण धित मर्नेगरी नाच्न नमिल्ने भए पनि नायिका अरुणिमा लम्सालले नाचगान भने गरिछाड्ने बताएकी छिन् । अहिले दर खानमै ब्यस्त अरुणिमा रातो साडीमा सजिएर तीजमा रमाइलो गर्ने मनस्थितिमा छिन् । आफन्तहरुको निम्तोलाई स्वीकार गर्दै उनी केही दिनदेखि दर खाने कार्यक्रममा ब्यस्त छिन् ।
यता नायिका ऋचा घिमिरे भने दर खान भन्दा पनि चलचित्रको प्रचारमै ब्यस्त रहेकी छन् । उनले रातो साडी किनेको र गहनाहरु तयारी अवस्थामा नै भएको जनाएकी छन् । तीजको दिनमा नाचगान गर्दै व्रत बस्ने जानकारी दिँदै ऋचाले अन्य दिनमा भने ब्रेकफेलको प्रचारमा जुट्ने बताईन् । पशुपती मन्दिर घर नजिकै रहेका कारण बिहान ४ बजे नै मन्दिर पुगेर भगवानको दर्शन गरी दिउँसो नाचगान गर्ने ऋचाले बताईन् । पछिल्लो समय छोरीसँगै क्याटवाक गरी चर्चामा आएकी नायिका करिश्मा मानन्धर एक महिना अघिदेखि सुरु भएका दर खाने कार्यक्रममा सहभागिता जनाउँदा जनाउँदै तीज मनाउन भने मलेसियामा गएकी छिन् । उनि शुक्रबार राती मलेसिया गएकी हुन् । उनले त्यहाँ रहेका नेपालीहरुसँग नै धुमधामका साथ तीज मनाउदै छिन् ।
नायिका निता ढुङ्गाना चाहिँ यस पटकको तीज मनाउन हेटौडा जाँदै छिन् । उनको घर हेटौडा भएका कारण उनी यसपटक घरमा गएर आमा र दिदीबहिनीहरुसँग मिलेर नाचगान गरी रमाइलो गर्दैछिन् । धेरै पछाडी आमासँग भेट्न पाउने खुशीमा रहेकी उनले अहिले दर खाने कार्यक्रममा भने खासै सहभागिता नजनाएको बताएकी छन् । यता नायिका सुमिना घिमिरे भने मलेसिया र दुवईको कार्यक्रम छोडेर नेपालमा नै तीज मनाउने तयारी गरिरहेकी छन् । उनले तीजमा नाचगान गरेर रमाइलो गर्ने सोच बनाएको जानकारी दिएकी छन् ।
नायिका अनु शाह भने घरमा नै बसेर रमाइलो गर्ने जानकारी दिएकी छन् । दिदीहरुसँग नाचगान गरेर रमाइलो गर्ने अनुको कार्यक्रम छ । यस्तै नायिका सुष्मा कार्कीले आफू केही दर खाने कार्यक्रममा उपस्थित हुने जानकारी दिएकी छन् । उनले यस बर्षको तीज मण्टेश्वरीका नानीहरुसँग मनाउने बताएकी छन् । तीजको अवसरमा हरियो रङ्गमा थोरै रातो रङ्ग मिसिएको कुर्ता लगाएर नाच्ने नायिका युना उप्रेतीको योजना छ । उनले मन्दिर जाने, महादेवको पूजा गर्ने र पेटभरी फलफुल खाएर व्रत बस्ने तयारी गरिरहेकी छन् ।
जे होस् हाम्रा नायिकाहरुले तीजमा नाचगान गर्नु र व्रत बस्नु पर्दछ भन्ने कुरा चाहिँ भुलेका रहेनछन् । पहिला पहिला सासुले दुःख दिएका कथा चेलीहरुले माइत आएर तीजका गीतमा व्यक्त गर्ने गर्दथे भने कतिले सानोमा पढ्न नपाएको कथा व्यक्त गर्ने गर्दथे । अब हाम्रा नायिकाहरुले यस पटकको तीजमा चलचित्र सुटिङका क्रममा पाएका दुःख व्यक्त गर्ने हुन् कि ! जे होस् सम्पूर्ण नेपाली दिदीबहिनीहरुलाई हरितालिका तीज २०६८ को हार्दिक मंगलमय शुभकामना !