नेपाली चलचित्र उद्योगमा शनिबार विदाको दिन अथवा चाडपर्वमा चलचित्रको व्यापार उत्साहजनक हुने मान्यता अधिकांश चलचित्रकर्मीहरुको रहेको छ । हल संचालकहरु समेत यस्तो समयमा नयाँ चलचित्रहरु प्रदर्शनमा ल्याउन चाहन्छन् । यतिबेला चाडपर्वको माहौल सुरु भएको छ तर यही बेलामा पूर्वमा बन्दको आह्वान गरिएपछि यहाँका हल सञ्चालक, वितरक निराश एवं आक्रोशित भएका छन् ।
आज कुसे औंसी र लगत्तै पर्ने इद र तीजको छेकोमा लिम्बुवान राज्य परिषद सन्जुहाङ् पालुङवा समुहले १२, १३ र १४ गरी ३ दिन पूर्वका ९ जिल्लामा बन्दको आह्वान गरेकोले प्रदर्शन भइरहेका र हुने क्रममा रहेका चलचित्रहरुलाई व्यवसायिक रुपमा घाटा पुर्याएको छ । नेपाली चलचित्रको व्यापार ठप्प भईरहेको अवस्थामा बन्दले झन त्यसलाई बढावा दिने काम गरेको छ । बन्दले सुनसरीको इटहरी र धरानका सिनेमा हलमा बढि प्रभाव पारेको छ भने आंशिक प्रभाव इनरुवा, झुम्का, दुहवी क्षेत्रमा परेको छ ।
अहिले पूर्वका हलहरूमा तीन चलचित्र 'सपना', 'श्रीमान श्रीमती' र 'सौभाग्य' चलिरहेका छन् । बन्दले गर्दा यि तीनै चलचित्रको व्यापारमा प्रभाव पारेको छ । उता भदौ १६ मा प्रदर्शन हुन लागेको चलचित्र ब्रेक फेलका निर्देशक शंकर घिमिरे पनि बन्दकै कारण पूर्व आएर चलचित्रको प्रमोसन गर्न नपाएकोमा खिन्न छन् । यस्तै संयुक्त लोकतान्त्रिक परिवेश नामक संगठनले आह्वान गरेको सेती-महाकाली आम हड्तालका कारण कञ्चनपुरको सिनेमा हलको व्यापारमा पनि प्रभाव परेको छ ।
सन्जुहाङ् पालुङवा समुहले तीन दिन बन्दको आह्वान गरेकोले निर्माता तथा हलवालाहरू ठूलो मारमा पर्ने भएका छन् । तीन दिने बन्दको पहिलो दिन झापा, इलाम, पाँचथर, ताप्लेजुङ्, धनकुटा, तेह्रथुम र संखुवासभा ठप्प छ । यसैगरी बन्दकै कारणले गर्दा पूर्वमा छायाँकन भईरहेको चलचित्र 'The Last Kiss: A Unique Love Story' को सुटिङ पनि रोकिएको छ ।