संगित मन नपराउने मान्छे खोज्ने हो भने सायदै भेटिदैन होला । हरेक व्यक्तिको जीवनमा संगीतले पनि महत्वपूर्ण भुमिका खेलको हुन्छ । मानिस सुखमा दु:खमा संगीतको साहारा लिने गर्दछ । हरेक व्यक्तिलाई एउटै संगीत मन पर्छ भन्ने छैन । संगीत सर्जकहरूको त संसार नै संगीतमय हुन्छ । संसारमा संगीत उत्पादक साधनहरू थुप्रै छन् । यिनै साधनहरू मध्येको एक 'स्याक्सोफोन' पनि हो ।
नेपालमा 'स्याक्सोफोन' बजाउने व्यक्ति सायदै औंलामा मात्रै सिमित होलान् अर्थात थोरै मात्र व्यक्तिले 'स्याक्सोफोन' बजाउने गरेको बुझिएको छ । यहि 'स्याक्सोफोन' बजाउने व्यक्ति मध्येका प्रमुख हुन् शुभ बहादुर सुनाम । बिगत ५० बर्ष देखि उनले यहि 'स्याक्सोफोन' बजाउँदै आएका छन् । नेपालमा मात्र नभएर एशियामा समेत प्रख्यात 'स्याक्सोफोन' बादक सुनामले थुप्रै नेपाली चलचित्रमा 'स्याक्सोफोन' को संगीत दिएका छन् ।
फुलको थुंगा बगेर गयो, के छ र दिउँ, रेलि माई रेलि माई, फुलै फुलको मौसम तिमीलाई, को हो त्यो जसले मलाई मोहनी लगायो जस्ता कालजयी गीतका सर्जक शुभ बहादुर सुनामले चलचित्र 'मनको बाँध' मा पहिलो पटक 'स्याक्सोफोन' बजाएको बताए । पुतलीसडक स्थित आफ्नै स्टुडियोमा बिकाश आचार्यको चलचित्र 'म तिम्रो भईसकें' का लागि लाईभ म्युजिक दिएपछि फिल्मीखबरसँग कुरा गर्दै सुनामले दर्जनौं सिनेमामा 'स्याक्सोफोन' बजाएको अनुभव सुनाए ।
चलचित्र प्रतिक्षा, के घर के डेरा, चाहना, दाजुभाई, बन्धन जस्ता चलचित्रको कमोपोज गरेको सुनाउँदै सुनामले भने, '१४ बर्षको उमेर देखि 'स्याक्सोफोन' बजाउँदै आएको छु कति चलचित्रमा बजाएँ भन्ने कुरा यकिनका साथ भन्न सक्दिन ।' पछिल्लो समय केहि चलचित्रकर्मीहरूले 'स्याक्सोफोन' को महत्व बुझ्न थालेकाले आफ्ना चलचित्रहरूमा यसको लाईभ म्युजिक हाल्न आग्रह गरेको सुनामले बताए । अहिलेका व्यस्त संगीतकार दिनेश सुनामका पिता तथा पेशागत रुपमा नेपाली सेना का अ.प्रा. सहायक रथी (Ret. Brigadier General) शुभ बहादुर सुनामले 'स्याक्सोफोन' को म्युजिक चलचित्रमा प्रयोग गर्दा सुन्नेलाई छुट्टै आनन्द आउने बताए ।
निर्देशक बिकाश आचार्यले आफ्नो चलचित्रमा 'स्याक्सोफोन' को लाईभ म्युजिक हालेपछि फिल्मीखबरलाई भने,'यति मिठो संगीत हुन्छ भन्ने पहिले नै थाहा पाएको भए मैले सबै ठाउँमा 'स्याक्सोफोन' कै लाईभ म्युजिक हाल्ने थिएँ ।' अहिले चलचित्रको कस्टिङ र अन्य दुई ठाउँमा 'स्याक्सोफोन' को लाईभ म्युजिक हालेको आचार्यको भनाई छ । निर्देशक आचार्यका अनुसार 'स्याक्सोफोन' को संगीतलाई अझै चलचित्रकर्मीले बुझ्न नसकेको बताए । उनले भने, 'यसको म्युजिक नबुझेर होला चलचित्रमा खासै प्रयोग भएको छैन । म त अब हरेक चलचित्रमा 'स्याक्सोफोन' प्रयोग गर्छु ।'
भारतिय चर्चित गायक गुलाम अलिका थुप्रै गीतमा संगीत दिईसकेका शुभबहादुरले 'स्याक्सोफोन' आफ्नै पिता तथा हजुरबुवाबाट सिकेको बताए । अहिले उनले आफ्ना छोरा र नातीलाई पनि 'स्याक्सोफोन' बजाउन सिकाएको बताए । 'स्याक्सोफोन' बजाउन अमेरिका र मलेसिया पुगिसकेका शुभबहादुरले करिब एक हजार गीतमा संगीत दिईसकेको बताए ।