केही दिन अघि फिल्मीखबरलाई सन्यास लिने बताएका नायक भुवन केसीको उक्त कुरा पनि चर्चामा आउने काइदा भएको रहस्य खुलेको छ । चलचित्र क्षेत्रकै ब्यक्तिहरुबाट सम्मान नपाएका कारण अब आफुले चलचित्र बनाइ राख्न जरुरी नदेखेर सन्यास लिने सोचाई आएको केसीले जानकारी दिएका थिए । तर बिहीबार भने उनले अर्को चलचित्रको तयारी गरिरहेको जानकारी फिल्मीखबरलाई मिलेको छ ।
स्क्याण्डल किङ समेत भनिने नायक केसीले बिहीबार चलचित्र ब्रेक फेलको प्रिमियरमा आफुले अर्को चलचित्र बनाउन लागेको बताए । चलचित्र हेरिसकेपछि चलचित्रको कथा र सम्बाद आफुलाई मन परेको बताउदै उनले चलचित्र ब्रेक फेलका स्कृप्ट राइटर दिनेश न्यौपानेलाई आफ्नो चलचित्रका लागी पनि स्कृप्ट लेखिदिन आग्रह गरे ।
आफ्नो छोरा अनमोलका लागी एउटा चलचित्र बनाउने इच्छा भएकोले युवा पुस्तालाई समेटने गरी लभ स्टोरी कथामा स्कृप्ट तयार पारिदिन भुबनले न्यौपानेलाई आग्रह गरेका हुन् । उनले कथालाई जसरी मोडे पनि लभ स्टोरी हुनु पर्ने भन्दै दिनेशलाई स्कृप्ट लेखिदिन आग्रह गरेका हुन् । भुवनले दिनेशलाई अर्को एउटा शर्त अगाडी सार्दै आफ्ना लागी पनि केही भुमिका छुट्याउन आग्रह गरे । तर आफ्नो लागी चरित्र भुमिका भए पनि हुने भन्दै उनले आफ्नो भुमिका सशक्त हुनुपर्ने माग गरे ।
दिनेशले चलचित्र ब्रेक फेल मन पराइ दिएकोमा भुवनलाई धन्यबाद दिदै आफु अहिले अन्य काममा ब्यस्त भएकोले तिहार पछाडि मात्र समय दिन सक्ने बताए । फिल्मीखबर कै अगाडी उक्त सम्बाद भए पछि भुवनले फिल्मीखबरसंग छोरा अनमोलका लागी बाबु हुनुको कर्तब्य पुरा गर्न चलचित्र निर्माण गर्ने बताए । आफुले सन्यास लिने औपचारीक घोषणा नगरेको र फिल्मीखबरलाई एक प्रतिशत सम्भावना बाँकि रहेको पहिले नै बताएको उल्लेख गर्दै भुवनले त्यहि एक प्रतिशतको आडमा रहेर छोराका लागी चलचित्र बनाउने बताए ।