भाद्र २ गतेबाट प्रदर्शनमा आएको चलचित्र 'सपना' का निर्देशक प्रदिप श्रेष्ठलाई भ्याई नभ्याई छ । केहि महिना अगाडी मात्र 'बोस' नामक चलचित्रको सुटिङ सकेका प्रदिपले लगातार तीन चलचित्रको निर्देशन गर्दैछन् । गत बर्ष काम नपाएका यि निर्देशकलाई यस बर्ष भने कामको चटारो छ ।
भाद्र १९ गतेबाट 'तृष्णा' नामक चलचित्रको सुटिङ शुरू गर्ने बताउँदै प्रदिपले त्यसपछि 'मेरो मनको साथी' र 'जोश' को निर्देशन गर्ने बताए । निर्देशक श्रेष्ठले चलचित्र 'तृष्णा' को छायाँकन असोज महिना सम्ममा सकेर तिहार सकिए लगत्तै चलचित्र 'मेरो मनको साथी' को निर्देशन गर्ने बताए । बुधबार चलचित्र 'मेरो मनको साथी' को गीत रेकर्डिङमा भेटिएका निर्देशक श्रेष्ठले आफूले गर्ने तीन चलचित्रको कथाबस्तु फरक-फरक रहेको बताए ।
शुरूमा गर्न लागेको चलचित्र 'तृष्णा' लाई मौनता श्रेष्ठ, हिरा कुवँर र पवन प्रजापतीले निर्माण गर्न लागेको बताउँदै चलचित्रमा आयुष रिजाल र झरना थापा मुख्य भुमिकामा रहने निर्देशक श्रेष्ठले बताए । पूर्ण रूपमा प्रेमकथामा आधारित रहने चलचित्र 'तृष्णा' बिबाहित पुरूषले गर्ने प्रेमको कथामा आधारित रहेको उनको भनाई छ । चलचित्रमा बसन्त सापकोटाको संगीत रहने छ ।
यस्तै हाल रेकर्डिङमा रहेको चलचित्र 'मेरो मनको साथी' थ्रिलर प्रेम कथामा आधारित रहेको निर्देशक बताउँछन् । राजेश शाहीले निर्माण गर्न लागेको सो चलचित्रका गीतमा महेश खड्काको संगीत रहेको छ । प्रतिमा भेनस फिल्म्सको व्यानरमा निर्माण हुन लागेको सो चलचित्रमा राजेश हमाल, आयुष रिजाल, सुनिलदत्त पाण्डे, नवप्रस्तुतीको रूपमा जस्मिन श्रेष्ठ लगायतले अभिनय गर्ने भएका छन् ।
यता पूर्ण रूपमा द्वन्दात्मक चलचित्र 'जोश' को सुटिङ पनि 'मेरो मनको साथी' सकिए लगत्तै गरिने छ । सञ्चारकर्मी लक्ष्मण सुवेदीको लेखन रहेको सो चलचित्रमा बसन्त सापकोटाको संगीत रहने छ भने कलाकारहरू अझै फाईनल भएका छैनन् । सो चलचित्र राजनैतिक कथाबस्तुमा आधारित रहने बताईएको छ ।