भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा बनेको चलचित्र 'आचार्य' को प्रचारप्रसार तिब्र पारिएको छ । दशैंको सेरोफेरोमा रहेर आगामी आउँदो असोज ६ गते सार्वजनिक हुन लागेको सो चलचित्रको प्रचार प्रसारलाई तिब्र पार्दै फिल्मीखबर डटकमले सो चलचित्रको गीत तथा प्रोमो प्रस्तुत गरेको छ । गत साता मात्र राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको अडियो तथा भिडियो क्लिपहरू सार्वजनिक गरिएको थियो ।
भक्तराजको जीवनीलाई कथामा उतारेर चलचित्रको पर्दामा प्रस्तुत गर्ने जमर्को गरेका हुन् निर्देशक प्रशान्त रसाईलिले । सिल्करूटको व्यानरमा निर्माण गरिएको चलचित्र आचार्यमा भक्तराजका जेष्ठ सुपुत्र सत्यराजले मुख्य भुमिका निर्वाह गरेका छन् । चलचित्रको पर्दामा ल्याउन मद्दत गर्ने निर्देशक रसाईलीलाई धन्यवाद दिंदै सत्यराजले आफ्नै पिताको जीवनीमा जीवन्तता दिने प्रयास गरेको बताए । तर उनले आचार्यमा अभिनय गरेको नभएर बुवाको विगत र संघर्षलाई देखाउने माध्यम भएको बताए ।
सत्यराज आचार्यको प्रमुख भुमिका रहेको सो चलचित्रमा अरूणा कार्की, सुनिल पोखरेलको साथमा भारतिय गजल गायक गुलाम अलिको बिशेष भुमिका रहेको छ । शैलेन्द्र कार्कीको छायाँकन तथा सम्पादन रहेको चलचित्र आचार्यको छायाँकन काठमाण्डौ, सिक्किम र दार्जिलिङमा गरिएको हो । रोशन राईले निर्माण गरेको सो चलचित्रका गीतमा भक्तराज कै संगीत रहेको छ । सांगीतिक चलचित्र भनिएको आचार्य करिब दुई करोडको लागतमा निर्माण गरिएको बताईएको छ ।
Aago ko raap Promo